टोकियो, जापान ।
जापानका विषयवस्तु समेतलाई समेटेर निर्माण गर्न लागिएको चलचित्र 'जहाजैमा' मा जापानी नायिकाले अभिनय गर्ने भएकी छिन् ।
जापानीज नायिका रजेल इचिमियाले चलचित्र जहाजैमा अभिनय गर्ने पक्का भएको हो । निर्देशक कृषा चौलागाईंले जापान आएको समयमा दुई साता अघि चलचित्र निर्माणको लागि सम्झौता गरेकी थिइन् । हाल चलचित्रको प्रि–प्रोडक्सनको काम भइरहेको बताइएको छ ।
फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्ने पक्का भइसकेको छ ।
सार्वजनिक पोष्टरमा सफा हिउँले भरिएको दृश्य, पारदर्शी छातामुनी उभिएकी रजेलको शालीनता र सुन्दरता छल्किएको छ । सार्वजनिक पोस्टर हेर्दा यो फिल्म एउटा फिल्म मात्र नभएर नेपाल र जापानविचको भावनात्मक पुलको रुपमा अगाडि आउने विश्वास गर्न सकिन्छ ।
निर्देशक चौलागाईंले यसपटक फिल्ममा जापानकी नायिकालाई नेपाली कथामा मिसाउनु चुनौतीपूर्ण भएपनि रोचक हुने बताइन् । यो फिल्मलाई यूएनए प्रोडक्सनको व्यानरमा जापानको नागोयामा रहेर व्यवसाय गर्दै आएका उज्ज्वल गुराँगाइले निर्माण गर्दैछन् । फिल्मले नेपाल–जापानको सम्बन्ध, प्रेम, सपना र संघर्षको कथा बोल्ने गुरागाईंको भनाई छ ।
फिल्ममा जापानीज नायिका हुने पक्का भएपनि नायकको विषयमा केहि खुलाइएको छैन । निर्देशक चौलागाईंले हाल नायक फाइनल गर्ने प्रक्रियामा नै आफूहरू रहेको बताइन् ।
रजेल जापानमा सक्रिय रुपमा काम गरिरहेकी नायिका तथा मोडल हुन् । उनलाई नेपाली फिल्ममा भित्र्याउनु आफैंमा नयाँपन हो । यसले नेपाली फिल्मको अन्तरराष्ट्रिय छविलाई थप बलियो बनाउने विश्वास गरिएको छ । यो फिल्मलाई सन् २०२६ मा रिलिज गर्ने तयारी गरिएको छ ।
नेपाली चलचित्रमा जापानी नायिकाले अभिनय गर्न लागेको यो पहिलो पटक पनि हो । पछिल्लो समय नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजारको लागि जापान प्रमुख गन्तव्य देश बन्दै आएको छ । एउटै चलचित्रका लागि जापानमा रहेका चलचित्र प्रदर्शकहरुले २५ लाख रुपैयाँसम्म तिरेर नेपाली चलचित्रलाई जापानमा प्रदर्शन गरेको पाइएको छ ।