टोकियो, जापान ।
जापानको पश्चिमी क्षेत्रमा पर्ने किन्की क्षेत्रमा आगामी ३० वर्षभित्र ६.८ वा सोभन्दा ठूलो शक्तिको भूकम्प जाने सम्भावना ६० प्रतिशतसम्म रहेको सरकारी भूकम्प अनुसन्धान समितिले जनाएको छ ।
सरकारी समितिले शुक्रबार सार्वजनिक गरेको नयाँ दीर्घकालीन मूल्यांकन अनुसार किन्की क्षेत्र र आसपासका ४५ सक्रिय भूकम्पिय गतिविधिको अध्ययन गरेर यस्तो बताएको हो । तीमध्ये उत्तर–पश्चिमी क्षेत्रमा भूकम्पको सम्भावना करिब ३० प्रतिशत, ‘किन्की ट्रायंगल’ भनिने मध्य क्षेत्रमा ४०–६० प्रतिशत र किइ प्रायद्वीप क्षेत्रमा करिब ७ प्रतिशत रहेको अनुमान गरिएको छ ।
समितिका अनुसार जापानका अन्य क्षेत्रको तुलनामा किन्की क्षेत्रमा सक्रिय भूकम्पिय गतिविधिका संख्या धेरै छ। जापानी द्वीपसमूह निर्माणका क्रममा जापान सागरको भूगर्भीय विस्तारले पनि यस क्षेत्रमा सक्रिय भूकम्पिय भ्रंशहरू विकास हुन भूमिका खेलेको बताइएको छ ।
८ म्याग्निच्युडभन्दा ठूलो भूकम्पको सम्भावना
अध्ययनमा केही क्षेत्रमा एकैपटक धेरै सक्रिय भूकम्पिय गतिविधिका भाग सक्रिय भए ८ म्याग्निच्युड आसपास वा सोभन्दा ठूलो भूकम्प जान सक्ने अनुमान गरिएको छ ।
फुकुई प्रिफेक्चरदेखि गिफु र शिगा प्रिफेक्चरको सीमासम्म फैलिएको यानागासे सेकिगाहारा फल्ट जोनका तीन खण्ड एकैपटक सक्रिय भए म्याग्निच्युड ८.१ देखि ८.३ सम्मको भूकम्प आउन सक्ने अनुमान गरिएको छ ।
त्यस्तै, किन्की ट्रायंगल र किइ प्रायद्वीपको सीमाक्षेत्र नजिक रहेको मेडियन टेक्टोनिक लाईन फल्क जोनका चार खण्ड एकैपटक सक्रिय भए म्याग्निच्युड ८ वा सोभन्दा माथिको भूकम्प आउन सक्ने समितिले जनाएको छ ।
ओकायामा र ह्योगो प्रिफेक्चर हुँदै फैलिएको यामासाकि फल्ट जोनका दुई मुख्य खण्ड एकैपटक सक्रिय भए पनि करिब ८ म्याग्निच्युडको भूकम्प आउन सक्ने अनुमान गरिएको छ ।
१९९५ को विनाशकारी भूकम्प गराउने भ्रंश पनि अध्ययनमा
ह्योगो प्रिफेक्चरको कोक्को आवाजि द्धिप फल्ट जोन अन्तर्गतको पश्चिमी आवाजि द्धिप क्षेत्रमा रहेको भ्रंशले सन् १९९५ मा म्याग्निच्युड ७.३ को बिनासकारी हानसिन भूकम्प निम्त्याएको थियो ।
समितिका अध्यक्ष तथा टोकियो विश्वविद्यालयका एमेरिटस प्राध्यापक काजुशिगे ओबाराले स्थानीय सरकारहरूले यी नयाँ तथ्यांकलाई आफ्नो क्षति अनुमान, जोखिम नक्सा र विपद् तयारी योजनामा समावेश गर्नुपर्ने बताएका छन् ।
उनले किन्की क्षेत्रमा नान्काई ट्रफबाट आउने ठूलो भूकम्पबारे चर्चा भइरहे पनि मानिसहरूले आफू बसेको ठाउँमुनि रहेका सक्रिय भ्रंशबारे समेत सचेत हुनुपर्नेमा जोड दिएका छन् ।
जापानमा बसोबास गर्ने नेपाली समुदायका लागि पनि यो चेतावनी महत्वपूर्ण छ । भूकम्पको सम्भावना रहेको क्षेत्रमा बस्नेहरूले आपत्कालीन झोला, पानी, खाना, औषधि तथा आवश्यक कागजातको तयारी गर्नुका साथै आफ्नो स्थानीय तहको हाजार्ड म्याप र आपत्कालीन आश्रयस्थलबारे पहिले नै जानकारी राख्नु उपयोगी हुन्छ ।