(Japan) 1 st July | 2026 | Wednesday | 7:58:08 PM || (Nepal) 4:43:08 PM
 
 

जापानतर्फ आउन सक्ने दुई ‘ताइफुन एग’ सक्रिय, क्युशुमा भीषण वर्षाको चेतावनी

  POSTED ON : Thursday, 02 July, 2026 | Views : 200

जापानतर्फ आउन सक्ने दुई ‘ताइफुन एग’ सक्रिय, क्युशुमा भीषण वर्षाको चेतावनी


टोकियो, जापान ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार जुलाई १ तारिख बुधबार मार्शल टापुनजिक एउटा उष्णकटिबन्धीय न्यूनचाप जसलाई सामान्य भाषामा ‘ताइफुन एग’ भनिन्छ, विकसित भएको छ । साथै, फिलिपिन्सको पूर्वी समुद्री क्षेत्रमा बुधबार साँझसम्म अर्को उष्णकटिबन्धीय न्यूनचाप बन्ने सम्भावना रहेको जनाइएको छ ।

समुद्रको सतहको तापक्रम उच्च रहेकाले यी प्रणालीहरू थप शक्तिशाली बन्दै ताइफुनमा रूपान्तरण हुन सक्ने मौसमविद्हरूले बताएका छन् । हाल यी प्रणालीहरूको निश्चित मार्ग तय नभए पनि केही पूर्वानुमान मोडेलहरूले ती जापानी द्वीपसमूहतर्फ अघि बढ्न सक्ने संकेत गरेका छन् । यद्यपि, तिनको दिशा र प्रभावबारे अझै निगरानी भइरहेको एजेन्सीका अधिकारीहरुले बताएका छन् ।

यसैबीच, मौसमी वर्षा गराउने सक्रिय वर्षा फ्रन्ट उत्तरी क्युशुतर्फ दक्षिण सर्दै गइरहेको छ । यसको प्रभावका कारण जुलाई २ सम्म क्युशुका विभिन्न क्षेत्रमा अत्यधिक वर्षा, डुबान तथा पहिरोको जोखिम बढ्ने चेतावनी जारी गरिएको छ ।

मौसमविद्हरूका अनुसार जापानमा जुलाई महिनामा ताइफुनको संख्या सामान्यतया जुनको तुलनामा झण्डै दोब्बर हुने भएकाले अब वर्षायाम समाप्त हुँदै गर्मी मौसमको चरम चरण सुरु हुने क्रममा मौसम थप अस्थिर बन्न सक्ने सम्भावना छ ।

अधिकारीहरूले विशेषगरी क्युशुदेखि कान्तो क्षेत्रसम्मका बासिन्दालाई मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा हेर्न, आकस्मिक अवस्थाका लागि आवश्यक सामग्री तयारी अवस्थामा राख्न तथा स्थानीय प्रशासनले जारी गर्ने चेतावनीको पालना गर्न आग्रह गरेका छन् ।