टोकियो, जापान ।
जापानको उत्तरी क्षेत्रमा सोमबार शक्तिशाली भूकम्प आएपछि स्थिति क्रमशः सामान्यतर्फ जाँदै गरेको भए पनि जोखिम पूर्ण रूपमा टरेको छैन । जापान मौसम विज्ञान एजेन्सीले ठूलो सुनामीको चेतावनी हटाएको छ, तर केही क्षेत्रमा अझै सुनामी सम्बन्धी सावधानी जारी राखिएको छ।
‘मेगा–भूकम्प’को सम्भावना बढेको चेतावनी
सोमबार आएको ७.७ म्याग्निच्युडको भूकम्पपछि मौसम विभागले सम्भावित “मेगा–भूकम्प” को चेतावनी जारी गरेको छ।
विशेषज्ञहरूका अनुसार प्रशान्त महासागरका दुई गहिरा समुद्री खाडल क्षेत्रमा ठूलो भूकम्प आउने सम्भावना सामान्यभन्दा बढेको छ ।
यो चेतावनी होक्काइदो देखि टोकियो क्षेत्रको चिबासम्मका १८२ शहर तथा नगरहरूमा लागू गरिएको छ । सम्बन्धित क्षेत्रका बासिन्दालाई तयारी अवस्थामा रहन र आधिकारिक सूचना सुन्न आग्रह गरिएको छ।
सुनामी चेतावनी हटाइयो, तर जोखिम बाँकी
भूकम्पपछि ईवाते तथा होक्काइदो र आओमोरिको प्रशान्त तटीय क्षेत्रमा ३ मिटरसम्मको सुनामी आउने चेतावनी जारी गरिएको थियो ।
हाल उक्त चेतावनी हटाइएको छ।
तर अझै १ मिटरसम्मको छाल आउन सक्ने भन्दै सुनामी एडभाइजरी कायम गरिएको छ।
भूकम्प सानरिकु कोष्ट नजिक समुद्रमा दिउँसो ४ बजेर ५२ मिनेटमा गएको थियो।
सुरुमा ७.५ म्याग्निच्युडको भनिएपनि पछि त्यसलाई ७.७ म्याग्निच्युडको भएको बताइएको छ । भूकम्प समुन्द्रको १९ मिलोमिटर गहिराईमा गएको थियो ।
शक्तिशालि भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएका क्षेत्रमा १ लाख ७० हजारभन्दा बढीलाई उद्धार आदेश जारि गरिएको थियो ।
अधिकारीहरुले आगामी सातासम्मका लागि ५ वा सो भन्दा माथिका पराकम्पहरु आउनसक्ने तथा दोस्रो वा तेस्रो सुनामी लहर अझ ठूलो हुन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन्।
जापानमा ठूलो भूकम्पपछि तत्कालको खतरा केही कम भए पनि “मेगा–भूकम्प” को सम्भावना बढेको भन्दै उच्च सतर्कता अपनाइएको छ। नागरिकलाई तयारी अवस्थामा रहन र आधिकारिक सूचना पालन गर्न आग्रह गरिएको छ ।