एजेन्सी ।
बुधवार बिहान रुसको क्याम्च्याट्का प्रायःद्वीपमा गएको ८.८ म्याग्निट्यूडको भूकम्प विश्वमै अहिलेसम्म गएको छैटौं ठूलो भूकम्प पाइएको छ । जुन स्थानमा विश्व ईतिहासकै शक्तिशाली भूकम्प ९ म्याग्निच्युड यसअघि गएको थियो ।
अमेरिकी भौगर्भिक सर्वेक्षण निकाय ९यूएसजीएस०का अनुसार रुसको सुदूरपूर्वमा पर्ने क्याम्च्याट्का प्रायःद्वीपमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको हो।
उक्त क्षेत्रमा विगत १० दिन यता निरन्तर भुइँचालो गए गइरहेको बताइएको छ ।
समाचारसंस्थाहरूका अनुसार अहिलेसम्म जापान, संयुक्त राज्य अमेरिका, पेरू, एक्वडोर र चीनमा सुनामीको चेतावनी जारी गरिएको छ । फिलिपिन्स र इन्डोनेशियामा पनि तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
जापानको पूर्वी तटीय क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानतर्फ लैजान निर्देशन दिइएको छ। त्यहाँ समुद्रको छाल चार मिटर माथिसम्म पुग्ने अनुमान गरिएको छ ।
जापानी अधिकारीहरूले अब आउने लहरहरू अझ बढी उचाइको हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेका छन् ।
मासुचनामीको चेतावनीपछि मानिसहरू हवाईको तटीय क्षेत्रबाट अन्यत्र जान थालेका छन् ।
अमेरिकी अधिकारीहरूले अलास्का र हवाई क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरेका छन्।
जापानका क्याबिनेट सेक्रेटरीले देशको उत्तरी भागमा आएको सुनामीबाट अहिलेसम्म मानिसहरू हताहत भएकोबारे कुनै विवरण प्राप्त नभएको बताएका छन्।
सुनामीका कारण गम्भिर क्षतिको सम्भावना न्यून रहेको भएपनि सामुन्द्रिक किनारमा जानु अघि आगामी २४ घण्टा पूर्व जानकारी लिएर मात्र यात्रा गर्न जापानी अधिकारीहरुले सचेत गराएका छन् ।
रुसमा भूकम्पमा परी थुप्रै व्यक्तिहरू घाइते भएका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै समाचारसंस्था तासले जनाएको छ।
झ्यालबाट हाम फालेकी एक महिलासहित सुरक्षित स्थानतिर जान लाग्दा केही व्यक्ति घाइते भएका छन्।
सो क्षेत्रका स्वास्थ्यमन्त्री ओलेग मेल्निकोभले घाइते सबै 'सन्तोषजनक अवस्थामा रहेका' बताएका छन्।
बुधवारको शक्तिशाली भूकम्पपछि रुसी अधिकारीहरूले 'कम्तीमा आउने महिनामा ७.५ म्याग्निट्यूडसम्मको उल्लेखनीय परकम्पको अनुमान गरिएको' बताएका छन्।
अमेरिकी भौगर्गिक सर्वेक्षण निकाय यूएसजीएसका अनुसार ८.८ म्याग्निट्यूड भनेको इतिहासको छैटौँ ठूलो भूकम्प हो। उक्त भूकम्प सन् २०१० मा बायोबाय चिली र सन् १९०६ मा एस्मेराल्डास, एक्वडोरमा गएका भूकम्पसरह हो ।
यूएसजीएसका अनुसार चिलीको भूकम्प, क्विरिह्वे सहरनजिकै समुद्र तटमा आएको थियो। त्यसमा परेर ५२३ जनाको मृत्यु भएको थियो भने ३,७०,००० वटाभन्दा बढी घरहरू नष्ट भएका थिए।
एक्वडोरको भूकम्पबारे यूएसजीएस भन्छ, 'एक्वडोर-कोलम्बिया भूकम्प भनिने यो भूकम्पले एउटा शक्तिशाली सुनामी उत्पन्न गराएको थियो, जसमा परेर १,५०० व्यक्तिको ज्यान गएको थियो भने यो उत्तरमा सान फ्रान्सिस्कोसम्म पुगेको थियो।'
आश्चर्यको कुरा पाँचौँ सबैभन्दा भीषण भूकम्प पनि रुसको क्याम्च्याट्का क्राइमै आएको थियो । यो सन् १९५२ मा गएको थियो र विश्वमा रेकर्ड गरिएको पहिलो म्याग्निट्यूड ९.० को भूकम्प थियो ।
जापानको प्रशान्त तटमा होक्काइदोदेखि वाकायामासम्म ३ मिटरसम्मको सुनामीको चेतावनी जारी गरिएको छ । अधिकारीहरूले सबै सतर्कताहरू नहटाएसम्म मानिसहरूलाई सुरक्षित स्थानमा बस्न आह्वान गरिरहेका छन् ।
इवाते प्रान्तको कुजी बन्दरगाहमा १.३ मिटर अग्लो छाल सहित तटीय क्षेत्रका विस्तृत क्षेत्रहरूमा सुनामी देखिएको छ ।