ओकिनावा, जापान ।
दक्षिण जापानमा बुधबार शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार ओकिनावा मुख्य टापु नजिक केन्द्रविन्दु बनाएर गएको भूकम्पको तीव्रता ५.९ म्याग्निच्युड मापन गरिएको छ।
भूकम्पका कारण सबैभन्दा प्रभावित क्षेत्रमा जापानी मापन प्रणाली अनुसार “शिन्दो अपर ५” स्तरको कम्पन महसुस गरिएको जनाइएको छ। यो स्तरको भूकम्पले मानिसहरुलाई उभिन कठिन हुने तथा घरभित्रका सामानहरू खस्न सक्ने अवस्था सिर्जना गर्न सक्छ।
हालसम्म मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। स्थानीय प्रशासनले सतर्कता अपनाउन तथा सम्भावित पराकम्पनप्रति सावधान रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
जापान मौसम विज्ञान एजेन्सीले यस भूकम्पपछि सुनामीको कुनै जोखिम नरहेको स्पष्ट पारेको छ। त्यसपछि ओकिनावा तथा आसपासका क्षेत्रमा रेल सेवा, विमान उडान र अन्य पूर्वाधारको अवस्था जाँच भइरहेको बताइएको छ।
जापान विश्वकै भूकम्पीय दृष्टिले संवेदनशील देशमध्ये एक भएकाले यहाँ यस्ता भूकम्प बारम्बार महसुस हुने गरेका छन्।