(Japan) 23 rd May | 2026 | Saturday | 3:57:00 PM || (Nepal) 12:42:00 PM
 
 


जापानमा नेपालीसहित विदेशी कामदारमाथि निगरानी बढ्ने संकेत, सामाजिक सञ्जालमार्फत निगरानी बढाइने

  POSTED ON : Saturday, 23 May, 2026 | Views : 34

जापानमा नेपालीसहित विदेशी कामदारमाथि निगरानी बढ्ने संकेत, सामाजिक सञ्जालमार्फत निगरानी बढाइने


टोकियो, जापान ।

जापानमा गैरकानुनी रूपमा बसोबास तथा काम गर्ने विदेशी नागरिकमाथि निगरानी कडा बनाइने भएको छ । जापानी अध्यागमन सेवा एजेन्सीले सामाजिक सञ्जाल (सोसल मिडिया) प्रयोग गरेर अवैध रोजगारी र भिसा उल्लंघनका गतिविधिहरू पहिचान गर्ने तयारी थालेको हो ।


जापानी सञ्चारमाध्यमका अनुसार अध्यागमन अधिकारीहरूले अब फेसबुक, एक्स (पूर्व ट्विटर), टिकटक लगायत सामाजिक सञ्जालमा फैलिएका अवैध कामदार भर्ती, नक्कली रेसिडेन्स कार्ड तथा भिसासम्बन्धी जालसाजीका सूचनाहरू संकलन र विश्लेषण गर्नेछन् । यसअघि भने प्रहरीबाट प्राप्त सूचना वा स्वयं गैरकानुनी रूपमा बसेका व्यक्तिहरू आत्मसमर्पण गर्न आएपछि मात्र कारबाही प्रक्रिया अघि बढाइने गरिएको थियो ।


अब भने एजेन्सीले थप सक्रिय रूपमा अनुसन्धान गर्दै अवैध रूपमा काम गर्ने विदेशी नागरिक मात्र होइन, उनीहरूलाई काममा लगाउने कम्पनी, रोजगार मिलाइदिने बिचौलिया तथा जालसाजीमा संलग्न समूहहरूमाथि समेत निगरानी बढाउने जनाएको छ।


यस योजनाअन्तर्गत कृत्रिम बुद्धिमत्ता अर्था एआई तथा निजी क्षेत्रका विश्लेषण उपकरणहरू प्रयोग गरिने बताइएको छ । जापान सरकारले सन् २०२७ देखि वा त्यसपछि यो प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखेको छ ।


स्थानीय तहमा पनि विदेशी नागरिकसँग सम्बन्धित समस्याबारे गुनासो बढ्दै गएपछि सरकारले क्षेत्रीय स्तरमा परामर्श तथा सहयोग सेवासमेत विस्तार गर्ने तयारी गरेको छ । जापानका विभिन्न नगरपालिकाहरूमा “अवैध बसोबास” र “गैरकानुनी कामदार” सम्बन्धी उजुरीहरू बढिरहेको बताइएको छ ।


अध्यागमन सेवा एजेन्सीका अनुसार जापानमा भिसा अवधि समाप्त भएपछि पनि बसिरहेका धेरै विदेशी नागरिक जीविकोपार्जनका लागि अवैध रूपमा काम गरिरहेका छन् । यस्ता गतिविधिले खराब श्रम अवस्था, कर नतिर्ने प्रवृत्ति तथा स्थानीय बासिन्दासँग विवादजस्ता समस्या निम्त्याइरहेको भन्दै सरकारले यसलाई गम्भीर सामाजिक मुद्दाका रूपमा लिएको छ।


गत वर्ष जापान सरकारले मन्त्रिपरिषद् सचिवालयअन्तर्गत विदेशी नागरिकसम्बन्धी समस्याहरू समन्वय गर्न नयाँ कमाण्ड सेन्टर स्थापना गरेको थियो। त्यसयता अध्यागमन विभागले अवैध बसोबास तथा गैरकानुनी रोजगारीमाथि निगरानी र कारबाही तीव्र पारेको छ।


एजेन्सीका अनुसार सन् २०२५ मा अवैध बसोबास र गैरकानुनी रोजगारसँग सम्बन्धित १ हजार ८ सय ३७ जनामाथि कारबाही गरिएको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४ सय ५९ ले बढी हो।


यसैगरी, सन् २०२६ जनवरी १ सम्म जापानमा अवैध रूपमा बसिरहेका विदेशी नागरिकको संख्या ६८ हजार ४ सय ८८ रहेको छ । यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ हजार ३ सय ७५ ले कम भएको जनाइएको छ ।