(Japan) 24 th May | 2026 | Sunday | 12:05:56 PM || (Nepal) 8:50:56 AM
 
 


ओकिनावामा नियम बिपरित काम गरेको आरोपमा नेपाली विद्यार्थी पक्राउ

  POSTED ON : Sunday, 24 May, 2026 | Views : 122

ओकिनावामा नियम बिपरित काम गरेको आरोपमा नेपाली विद्यार्थी पक्राउ


ओकिनावा, जापान ।

जापानको ओकिनावा प्रिफेक्चरमा योग्यता बाहिरको काम (資格外活動) गरेको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन् । ओकिनावा प्रिफेक्चरल प्रहरीले मे २१ मा सार्वजनिक गरेको विवरणअनुसार २४ वर्षीय नेपाली युवकलाई अध्यागमन तथा शरणार्थी मान्यता सम्बन्धी कानुन उल्लंघन गरेको आरोपमा मे २० तारिखमा पक्राउ गरिएको हो ।


प्रहरीका अनुसार ती युवक विद्यार्थी भिसामा जापानमा बसोबास गर्दै आएका थिए । तर उनी विद्यालयमा नियमित अध्ययन नगरी नाहा स्थित एक रेष्टुरेन्टमा काम गर्दै आएको आरोप छ ।


अनुसन्धानका क्रममा ती युवकले अप्रिल २ देखि मे १४ सम्म आफ्नो आवासीय योग्यता अनुसार अनुमति नभएको पारिश्रमिक सहितको काम मुख्य रूपमा गरेको पाइएको प्रहरीले जनाएको छ । जापानी कानुन अनुसार विद्यार्थी भिसामा रहेका विदेशी नागरिकले निश्चित समयसीमा भित्र मात्रै काम गर्न पाउने व्यवस्था छ । विद्यालयमा अध्ययन नगरी पूर्णकालीन रूपमा काम गर्नु कानुनविपरीत मानिन्छ।


प्रहरीका अनुसार पक्राउ परेका नेपाली युवक विशेष व्यावसायिक विद्यालयबाट सन् २०२५ मार्च ३१ मा निष्कासित भएका थिए । त्यसपछि पनि उनले विद्यार्थी भिसाकै अवस्थामा काम जारी राखेको आशंका गरिएको छ ।


हाल प्रहरीले सम्बन्धित रेष्टुरेन्ट सञ्चालकले ती युवकको भिसा स्थिति तथा काम गर्ने अनुमति बारे जानकारी राखेका थिए वा थिएनन् भन्ने विषयमा समेत अनुसन्धान गरिरहेको जनाएको छ ।


जापानमा पछिल्लो समय विदेशी विद्यार्थीहरूको अवैध रोजगारी तथा भिसा उल्लंघनका घटनामा निगरानी कडा बनाइएको छ। विशेषगरी विद्यालय नगई काममा मात्रै संलग्न हुने विदेशी नागरिकमाथि अध्यागमन विभाग र प्रहरीले संयुक्त रूपमा निगरानी बढाइरहेका छन् ।