टोकियो, जापान ।
जापानको मियागी प्रान्तको तटीय क्षेत्रमा शुक्रबार साँझ शक्तिशाली भूकम्प गएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार स्थानीय समयअनुसार आएको उक्त भूकम्पको तीव्रता ६.३ म्याग्निच्युड मापन गरिएको छ । भूकम्पका कारण मियागी क्षेत्रका केही स्थानमा जापानी मापन स्केलअनुसार ‘लोअर–५’ स्तरको कम्पन महसुस गरिएको जनाएको छ।
एजेन्सीले भूकम्पपछि सुनामीको कुनै खतरा नरहेको स्पष्ट पारेको छ। यद्यपि, शक्तिशाली कम्पनपछि पूर्वोत्तर जापानका विभिन्न क्षेत्रमा सावधानी अपनाउन स्थानीय प्रशासनले नागरिकलाई आग्रह गरेको छ।
भूकम्पका कारण जापानको चर्चित तोहोकु शिन्कान्सेन (बुलेट ट्रेन) सेवा प्रभावित भएको छ । सेवा सञ्चालन गर्ने कम्पनीका अनुसार टोकियो स्टेशनदेखि शिन–आओमोरी स्टेशनसम्मको रेल सेवा अस्थायी रूपमा रोकिएको छ। भूकम्पका कारण विद्युत आपूर्तिमा समस्या आएपछि सेवा स्थगित गरिएको बताइएको छ।
यसैबीच, तोहोकु इलेक्ट्रिक पावर कम्पनीले मियागी प्रान्तस्थित ओनागावा आणविक ऊर्जा केन्द्रमा हालसम्म कुनै असामान्यता नदेखिएको जनाएको छ। कम्पनीका अनुसार भूकम्पपछि गरिएको प्रारम्भिक निरीक्षणमा प्लान्ट सुरक्षित रहेको पुष्टि भएको छ।
त्यस्तै, आणविक केन्द्र आसपासका विकिरण मापन केन्द्रहरूमा पनि कुनै असामान्य परिवर्तन नभएको जानकारी दिइएको छ। अधिकारीहरूले अवस्था सामान्य रहेको जनाउँदै थप निगरानी जारी राखिएको बताएका छन्।
हालसम्म भूकम्पबाट मानवीय क्षति वा ठूलो भौतिक क्षतिको विवरण सार्वजनिक भएको छैन। जापानी अधिकारीहरूले भने सम्भावित परकम्पको जोखिमलाई ध्यानमा राख्दै सतर्क रहन आग्रह गरेका छन्।