(Japan) 25 th May | 2026 | Monday | 3:16:51 PM || (Nepal) 12:01:51 PM
 
 


मोना नेपाल फेस्टिबलबाट २५ लाख बढी बचत, सहयोगी दाता तथा कलाकारहरु सम्मानित

  POSTED ON : Monday, 25 May, 2026 | Views : 42


टोकियो, जापान ।

जापानमा आयोजित दोस्रो “म्याग्दी मोना ईतावाशी नेपाल फेस्टिबल २०२६” को आय–व्यय विवरण सार्वजनिक गरिएको छ । फेस्टिबल आयोजक संस्था मोना जापानले आइतबार टोकियोमा आयोजित विशेष कार्यक्रम मार्फत फेस्टिबलको आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै कुल २५ लाख ७१ हजार ६७ येन बचत भएको जानकारी दिएको हो ।


सार्वजनिक गरिएको प्रतिवेदन अनुसार दुई दिने फेस्टिबलबाट कुल ९३ लाख ३१ हजार ५५५ येन आम्दानी भएको थियो भने कार्यक्रम सञ्चालन, व्यवस्थापन तथा विभिन्न शीर्षकमा ६७ लाख ६० हजार ४८८ येन खर्च भएको उल्लेख गरिएको छ । यसरी समग्र कार्यक्रमबाट २५ लाखभन्दा बढी रकम खुद बचत हुन सफल भएको आयोजकले जनाएको छ ।


आय–व्यय सार्वजनिक कार्यक्रमसँगै चर्चित कलाकार रवि कार्कीलाई विदाइ गरिएको थियो भने फेस्टिबल सफल बनाउन सहयोग पुर्‍याउने विभिन्न संघसंस्था, प्रायोजक तथा स्वयंसेवकहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा जापानस्थित नेपाली समुदायका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


मोना जापानका अध्यक्ष गणेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष ददिवल खड्का, नेपाल व्यवसायी संघ जापान (एनबिए जापान) का अध्यक्ष विजेश थकाली, एनआरएनए आईसीसी डीआरसी दीपक कँडेल, व्यवसायी विनोद शेरचन लगायत विभिन्न सामाजिक तथा व्यावसायिक संस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।


फेस्टिबलको आर्थिक प्रतिवेदन मोना जापानका कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको संयोजकत्वमा तयार पारिएको बताइएको छ । आयोजकका अनुसार कार्यक्रमलाई नेपाली दूतावास टोकियो, ईतावाशी सिटी कार्यालय, ईतावाशी शिक्षा समिति, ईतावाशी पर्यटन संघ, ताकाशिमादाइरा प्रहरी कार्यालय, दाइतो बुन्का विश्वविद्यालय ईतावाशी क्याम्पस तथा मोना आईईसी लगायतका संस्थाहरूले सहयोग गरेका थिए ।


त्यस्तै, एनआरएनए आईसीसी उपाध्यक्ष ददिवल खड्का मुख्य प्रायोजकका रूपमा रहेका थिए भने “येहे रेमिट” कार्यक्रमको साझेदार रहेको जानकारी दिइएको छ।


फेस्टिबलमा नेपाली र जापानी समुदायबीच सांस्कृतिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित विविध सांस्कृतिक प्रस्तुति राखिएको थियो। कार्यक्रममा ४० वटा नेपाली तथा जापानी सांस्कृतिक समूह र संस्थाहरूले सहभागिता जनाएका थिए भने करिब २ सय ९७ जना कलाकारहरूले नृत्य, संगीत तथा सांस्कृतिक प्रस्तुति दिएका थिए।


प्रतिवेदनअनुसार फेस्टिबलका लागि १ सय २२ जना व्यक्तिहरूले आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। तीमध्ये हालसम्म ८५ जनाले सहयोग रकम उपलब्ध गराइसकेको आयोजकले जनाएको छ।


कार्यक्रम सफल बनाउन मोना आईईसी, थकाली सेवा समिति, देविस्तान समाज, मोना शिजुओका, बलेवा समाज, कास्की पोखरा समाज, नेपाल मगर समाज जापान, देउराली पञ्चेबाजा, छन्त्याल संघ, पुन क्लब जापान लगायतका संघसंस्थाहरूले आर्थिक, व्यवस्थापकीय तथा स्वयंसेवक सहयोग प्रदान गरेका थिए।


आयोजकका अनुसार फेस्टिबलले जापानमा नेपाली कला, संस्कृति, भाषा र परम्पराको प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ। साथै स्थानीय जापानी समुदायसँग नेपाली समुदायको सम्बन्ध विस्तार गर्दै सांस्कृतिक आदान–प्रदानलाई थप मजबुत बनाउने माध्यमका रूपमा पनि यो फेस्टिबल सफल भएको मूल्यांकन गरिएको छ।