फुकुओका, जापान ।
“स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ फुकुओका क्रिकेट क्लबको आयोजनामा ‘तेस्रो क्युस्यु स्माइल्स कप २०२६’ आयोजना हुने भएको छ । Smiles Mobile Remittance को मुख्य प्रायोजनमा हुन लागेको उक्त प्रतियोगिता आगामी २०२६ मार्च २८ तारिख (शनिबार) गान्नोसु रिक्रिएसन सेन्टरको खेल मैदानमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताको मुख्य उद्देश्य क्युस्यु क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी मेलमिलाप, भाइचारा तथा एकता अभिवृद्धि गर्नु रहेको खेल संयोजक मिराज सेडाईले जानकारी दिएका छन्। उनका अनुसार फुकुओका, कुमामोतो, यामागुची, किताक्युशु लगायत क्युस्यु क्षेत्रका विभिन्न स्थानबाट कुल ९ टिमको सहभागिता रहनेछ।
यसअघि आयोजना गरिएका पहिलो र दोस्रो संस्करण भव्य रूपमा सफलतापूर्वक सम्पन्न भइसकेका छन्। तेस्रो संस्करणलाई अझ आकर्षक र प्रतिस्पर्धात्मक बनाउने तयारी भइरहेको संयोजक सेडाईले बताएका छन्। प्रतियोगितामा विजेता टिमलाई १८०,००० येन नगद पुरस्कारसहित ट्रफी र मेडल प्रदान गरिनेछ भने उपविजेता टिमलाई १००,००० येनसहित ट्रफी र मेडल प्रदान गरिने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विभिन्न विधामा विशेष पुरस्कार तथा सम्मान प्रदान गरिने पनि आयोजकले जनाएको छ।
आयोजकले क्युस्यु क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूलाई उक्त कार्यक्रममा उपस्थित भई खेलको रोमाञ्चकता बढाउन र खेलकुदको प्रवर्द्धनमा साथ दिन अनुरोध गरेका छन्। प्रतियोगिताले जापानमा नेपाली समुदायबीच एकता, सहकार्य र खेल संस्कृतिको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ ।