टोकियो, जापान ।
आफ्नै घरेलु मैदानमा आयोजक अस्ट्रेलियालाई १–० ले गोल अन्तरले हराउँदै एएफसी महिला एसियन कप उपाधि जापानले जितेको छ । शनिबार सिड्नीस्थित एकोर रंगशालामा जापानलाई जित दिलाउन माइका हमानोले एकमात्र विजयी गोल गरेकी थिइन् ।
कीर्तिमानी ७४ हजार ३९७ समर्थकको उपस्थिति रहेको खेलमा हमानोले १७ औँ मिनेटमा गोल गरेकी थिइन् । उनले बक्सबाहिरबाट सुन्दर गोल गरेकी थिइन् । जापानले एएफसी महिला एसियन कपको उपाधि उचालोको यो तेस्रोपटक हो ।
यसअघि जापानले २०१४ र २०१८ मा उपाधि जितेको थियो । ती दुई फाइनलमा पनि जापानले अस्ट्रेलियालाई नै १–० ले नै हराएको थियो । प्रतियोगितामा ६ गोल गरेकी जापानकी रिको उएकी सर्वाधिक गोलकर्ता बनिन् ।
जापानकै अयाका यामासिता सर्वोत्कृष्ट गोलकिपर र अस्ट्रेलियाकी एलान्ना केनेडी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।
हालसम्म एएफसी महिला एसियन कपको उपाधि सबैभन्दा बढि चीनले जितेको छ । चीनले नौपटक उपाधि जितिसकेको छ ।