(Japan) 27 th March | 2026 | Friday | 5:30:43 PM || (Nepal) 2:15:43 PM
 
 


लुम्बिनी लायन्सले जित्यो एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम उपविजेता

  POSTED ON : Sunday, 14 December, 2025 | Views : 644

लुम्बिनी लायन्सले जित्यो एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम उपविजेता


काठमाडौँ, नेपाल । 

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि  लुम्बिनी लायन्सले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । 


सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्यो । उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो । 


सुदूरपश्चिमले जितका लागि दिएको ८६ रनको झिनो लक्ष्य पछ्याएको लुम्बिनीले नौ ओभरमा चार विकेट गुमाउदै पूरा गर्‍यो । लुम्बिनीका लागि दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए । उनले १३ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ४२ रनको योगदान गरेका हुन् ।


यस्तै, डार्शी शर्टले १४ रन बनाए । उनले १३ बलमा तीन चौका प्रहार गर्दै १४ रन बनाए । कप्तान रोहित पौडेलले १६ रन बनाए । उनले १२ बलमा दुई चौका र एक छक्का प्रहार गर्दै १६ रन बनाएका हुन् । निरोशन डिक्वेलले ११ रनमा अविजित रहे । यस्तै, सन्दिप जोरा शून्यमा आउट भए ।


बलिङतर्फ सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए भने अविशेक बोहोरा र दिपेन्द्रसिंह ऐरीले समान एकरएक विकेट लिए । यसअघि, टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन जोडे । उनले ५१ बलमा एक चौकाको सहयोगमा ३३ रन जोडेका हुन् । 


यस्तै, कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन बनाए भने हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/१० रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानहरूले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।


सुदूरपश्चिमलाई सस्तैमा समेट्ने क्रममा लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र  कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।