(Japan) 15 th July | 2026 | Wednesday | 10:08:00 PM || (Nepal) 6:53:00 PM
 
 

नेपालले जापानलाई ९ विकेटले हराउँदै एसिया कप यात्रा सुनिश्चित गर्यो

  POSTED ON : Thursday, 16 July, 2026 | Views : 82

नेपालले जापानलाई ९ विकेटले हराउँदै एसिया कप यात्रा सुनिश्चित गर्यो


टोकियो, जापान ।

मलेसियामा जारी एसिसि महिला यू–१९ प्रिमियर कप २०२६ अन्तर्गत क्वार्टरफाइनल–४ मा नेपालले जापानलाई एकतर्फी रूपमा ९ विकेटले पराजित गर्दै सेमिफाइनलसँगै आगामी यू–१९ महिला एसिया कपमा स्थान सुरक्षित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको जापान नेपाली बलरहरूको कसिलो आक्रमणसामु टिक्न सकेन । निर्धारित २० ओभरमा जापान मात्र ८६ रनमा अलआउट भयो । जापानकी कप्तान बियांका सिनोले अविजित ३८ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन् । नेपालका कृष्मा गुरुङ र रिया शर्मा ले समान २–२ विकेट लिएर जापानलाई सानो योगफलमा सीमित गरे ।

८७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले केवल ११.२ ओभरमा १ विकेट गुमाएर ९० रन बनाउँदै सहज जित दर्ता गर्यो । ओपनर साबित्री धामीले अविजित ४१ रन बनाएर टोलीलाई जितसम्म पुर्याइन् । अर्की ओपनर सना प्रवीणले १८ रनको योगदान दिँदा कप्तान सोनी पाख्रिन १८ रनमा अविजित रहिन् ।

समूह चरणका तीनै खेल जित्दै क्वार्टरफाइनल पुगेको नेपालले नकआउट चरणमा पनि उत्कृष्ट लय कायम राखेको छ । यो जितसँगै नेपालले सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ भने अर्को सेमिफाइनलमा इन्डोनेसिया र थाइल्यान्ड आमनेसामने हुनेछन् ।


नेपालले प्रतियोगिताभर देखाएको उत्कृष्ट ब्याटिङ, अनुशासित बलिङ र चुस्त फिल्डिङका कारण उपाधि दाबेदार टोलीका रूपमा आफ्नो दाबेदारी थप बलियो बनाएको छ ।