टोकियो, जापान ।
नेपालमा पछिल्लो समय आएको अविरल वर्षा तथा त्यसबाट उत्पन्न बाढी–पहिरोका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले नेपाली दाजुभाई सहकारी प्रतिष्ठान (NBCF Japan) ले आर्थिक सहयोग गरेको छ।
NBCF Japan का संयोजक अर्जुन गुरुङद्वारा जारी जानकारीअनुसार संस्थाले आफ्ना सदस्यहरूको सक्रिय सहभागितामा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ लाख ११ हजार १११ सहयोगस्वरूप जम्मा गरेको हो।
संस्थाले नेपालमा २०८३ साल भदौ १० गतेदेखि आएको अविरल वर्षा तथा त्यसबाट उत्पन्न बाढी–पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्बाट प्रभावित पीडितहरूको उद्धार, राहत तथा पुनर्निर्माण कार्यमा आफ्नो तर्फबाट सहयोग गर्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको जनाएको छ।
NBCF Japan ले मानवीय सहयोगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण सहयोगीहरूप्रति हार्दिक सम्मान तथा धन्यवाद व्यक्त गरेको छ।
संस्थाले आगामी दिनमा पनि आवश्यक परेका पीडितहरूको सहयोग, राहत तथा पुनर्निर्माणका लागि निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।
यसैबीच, बाढी–पहिरोको दुःखद घटनामा ज्यान गुमाएका सम्पूर्ण दिवंगतप्रति NBCF Japan ले श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।