(Japan) 27 th August | 2026 | Thursday | 5:58:35 PM || (Nepal) 2:43:35 PM
 
 


नुवाकोट समाज जापानद्वारा बाढीपीडितका लागि तत्काल ५ लाख रुपैयाँ सहयोग

  POSTED ON : Thursday, 27 August, 2026 | Views : 152

नुवाकोट समाज जापानद्वारा बाढीपीडितका लागि तत्काल ५ लाख रुपैयाँ सहयोग


टोकियो, जापान ।

नुवाकोट समाज जापानले नेपालका नुवाकोट, रसुवा र धादिङ जिल्लाका भोटेकोसी तथा त्रिशूली नदी आसपासका बाढीपीडितका लागि तत्काल ५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। समाजले बाढीबाट प्रभावित परिवारको पीडामा मल्हम लगाउन तथा आवश्यक राहत र पुनर्स्थापनामा सहयोग पुर्‍याउन नेपाल सरकारसँग हातेमालो गर्ने उद्देश्यले उक्त रकम उपलब्ध गराउन लागेको हो।

समाजका अनुसार बाढीका कारण परिवारका सदस्य तथा प्रियजन गुमाएका, घाइते भएका तथा घरबारविहीन बनेका प्रभावित नागरिकलाई तत्काल राहत आवश्यक रहेकाले सहयोग अभियान अघि बढाइएको हो । तत्काल ५ लाख रुपैयाँ सहयोगसँगै थप आवश्यक सहयोग जुटाउने समाजका अध्यक्ष ज्ञानेन्द्र पुडासैनिले जानकारी दिनुभयो ।

यसैबीच, बाढीपीडितको सहयोगका लागि नुवाकोट समाज जापानले टोकियोमा आयोजना हुने तीज कार्यक्रम तथा नागोया क्षेत्रीय समितिले आयोजना गरेको बीबीक्यू कार्यक्रम रद्द गरेको जनाएको छ । कार्यक्रमबाट हुने खर्च तथा स्रोतलाई मानवीय राहत कार्यमा केन्द्रित गर्ने उद्देश्यले कार्यक्रम रद्द गरिएको महासचिव सन्तोषी अधिकारीले जानकारी दिनुभयो ।

समाजले जापानमा रहेका नेपाली समुदायलाई बाढीपीडितको दुःखमा साथ दिन र सक्दो सहयोग गर्न अपिलसमेत गरेको छ ।

समाजले भनेको छ, “आउनुस्, हामी सबै एकजुट बनौं। भोटेकोसी, त्रिशूली बाढीमा परिवारका सदस्य र प्रियजन गुमाएका, घाइतेहरूको पीडामा मल्हम लगाउन र घरबारविहीनहरूलाई गाँस र बासको लागि सकेको सहयोग गरौं ।”

बाढीबाट प्रभावित क्षेत्रमा मानवीय संकट गहिरिँदै गएको अवस्थामा प्रवासमा रहेका नेपाली संघसंस्थाले राहत तथा सहयोग अभियान अघि बढाउन थालेका छन् । नुवाकोट समाज जापानको यो पहलले तत्काल राहत आवश्यक रहेका परिवारसम्म सहयोग पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।