(Japan) 7 th July | 2026 | Tuesday | 5:48:43 PM || (Nepal) 2:33:43 PM
 
 

दुर्गम नेपालमा ‘ब्लड संकलन बस’ सञ्चालनका लागि टोकियो नेपाल फेस्टिभलबाट आर्थिक सहयोग जुटाईंदै

  POSTED ON : Tuesday, 07 July, 2026 | Views : 172

दुर्गम नेपालमा ‘ब्लड संकलन बस’ सञ्चालनका लागि टोकियो नेपाल फेस्टिभलबाट आर्थिक सहयोग जुटाईंदै


टोकियो, जापान ।

नेपालको दुर्गम तथा विकट क्षेत्रहरूमा रगतको अभावका कारण हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘ब्लड संकलन बस सेवा’ सञ्चालनका लागि आर्थिक संकलन अभियान सुरु गरिएको छ । अभियानको नेतृत्व गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद् ९आईसीसी० का उपाध्यक्ष तथा समाजसेवी ददीवल खड्काले गर्नुभएको हो ।

अभियानलाई सफल बनाउन आगामी जुलाई १८ देखि २० सम्म टोकियोमा आयोजना हुने नेपाल फेस्टिभल मा पनि आर्थिक सहयोग संकलन गरिने भएको छ। विदेशमा रहेका नेपालीलाई मानव जीवन बचाउने यस अभियानमा सहभागी गराउने उद्देश्यले फेस्टिभललाई प्रमुख माध्यम बनाइने अभियान पक्षले जनाएको छ ।

अभियान संयोजक ददीवल खड्काका अनुसार, गत जुन महिनामा नागोयामा सम्पन्न नेपाल फेस्टिभलबाट २ लाख २० हजार जापानी येन संकलन भइसकेको छ। टोकियो नेपाल फेस्टिभलबाट थप सहयोग जुट्ने अपेक्षा गरिएको छ।

नेपालका ग्रामीण तथा दुर्गम क्षेत्रमा समयमै रगत उपलब्ध नहुँदा दुर्घटनाका घाइते, गर्भवती महिला, शल्यक्रियाका बिरामी तथा आकस्मिक अवस्थाका नागरिकले अझै पनि सास्ती भोग्नुपरेको अवस्था छ। यही समस्यालाई समाधान गर्न करिब ७५ लाख रुपैयाँको लागतमा अत्याधुनिक ब्लड संकलन बस सञ्चालन गर्ने योजना बनाइएको हो।

अभियानअन्तर्गत सञ्चालन हुने बसमार्फत गाउँ–गाउँमा पुगेर नियमित रक्तदान कार्यक्रम सञ्चालन गरिने, स्थानीय स्तरमै रगत संकलन तथा सुरक्षित भण्डारण गरिने तथा आकस्मिक अवस्थामा आवश्यक पर्ने बिरामीलाई समयमै रगत उपलब्ध गराउन सहज हुने विश्वास गरिएको छ।

अभियानको नारा “सके रक्तदान गरौं, नसके रक्तदान र संकलनको पुण्य काममा दान गरौं” राखिएको छ। जापानमा रहेका नेपाली समुदाय, व्यवसायी, सामाजिक अभियन्ता, विभिन्न संघसंस्था तथा मानव सेवामा विश्वास गर्ने सबैलाई आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेर अभियानमा सहभागी हुन आह्वान गरिएको छ।

अभियान संयोजक ददीवल खड्काले यो अभियान केवल एउटा परियोजना नभई हजारौं नेपालीको जीवनसँग जोडिएको मानवीय अभियान भएको उल्लेख गर्दै सबै नेपालीको साथ, सहयोग र ऐक्यबद्धताको अपेक्षा व्यक्त गर्नुभयो।

अभियान पक्षले “एउटा सानो सहयोगले पनि कसैको जीवन बचाउन सक्छ” भन्दै सबैलाई मानवता बचाउने यस साझा अभियानमा सहभागी हुन अपिल गरेको छ।