टोकियो, जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले आफ्नो प्रवक्ताको जिम्मेवारी पत्रकार सचिन आचार्यलाई प्रदान गरेको छ। कार्यसमितिको निर्णयअनुसार आचार्यलाई संगठनको आधिकारिक प्रवक्ताका रूपमा चयन गरिएको हो।
जापानस्थित नेपाली समुदायका गतिविधि, समस्या तथा विभिन्न सामाजिक सरोकारका विषयलाई लामो समयदेखि सञ्चारमाध्यममार्फत उठाउँदै आएका आचार्य पत्रकारिता र सामाजिक क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनको नियुक्तिले संगठन र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई अझ प्रभावकारी र व्यवस्थित बनाउने विश्वास गरिएको छ।
नवनियुक्त प्रवक्ता आचार्यले संगठनका गतिविधि, योजना तथा निर्णयहरूलाई समुदायसम्म पारदर्शी र प्रभावकारी ढंगले पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले जापानमा रहेका नेपालीहरूको हित, अधिकार र समुदायका साझा मुद्दामा संगठन तथा सञ्चारमाध्यमबीचको सहकार्यलाई थप सुदृढ बनाउने आवश्यकता औंल्याएका छन्।
हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नेतृत्व सुभाष लामिछाने ले गरिरहेका छन्। संस्थाले जापानमा बसोबास गर्ने नेपालीहरूको हकहित संरक्षण, सहयोग र समुदायिक एकताको प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
यसअघि प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका रविन शर्मा अमेरिका प्रस्थान गरेपछि उक्त जिम्मेवारी आचार्यलाई हस्तान्तरण गरिएको संगठनले जनाएको छ।