टोकियो, जापान ।
जापानमा रहेका नुवाकोटवासी नेपालीहरूको साझा संस्था नुवाकोट समाज जापानले आगामी जुलाई ११ तारिख बिबिक्यू तथा वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाले जापानमा रहेका नुवाकोट जिल्लावासी नेपाली समुदायबीच आपसी परिचय, एकता तथा सद्भावलाई थप मजबुत बनाउने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ ।
कार्यक्रम २०२६ जुलाई ११ तारिख शनिबार जापानको साकुराचुसुमी पार्क इचिकावामा आयोजना हुन लागेको समाजका महासचिव सन्तोषि अधिकारीले जानकारी दिनुभयो । आयोजकका संस्थाका अनुसार कार्यक्रममा जापानमा रहेका नुवाकोटवासी मात्र नभई अन्य नेपाली समुदायको पनि सहभागिता रहने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागीहरूका लागि विभिन्न प्रवेश शुल्क निर्धारण गरिएको छ । जोडीका लागि ६,००० येन, पुरुषका लागि ३,५०० येन, महिलाका लागि ३,००० येन, तथा विद्यार्थीका लागि २,५०० येन शुल्क तोकिएको छ । यस्तै १२ वर्षमुनिका बालबालिकालाई निःशुल्क प्रवेश दिइनेछ भने १३–१५ वर्ष उमेर समूहका लागि १,००० येन शुल्क राखिएको छ ।
आयोजकका अनुसार कार्यक्रमको विशेष आकर्षणका रूपमा नुवाकोटका स्थानीय कलाकारहरूको सहभागितामा लोकदोहोरी तथा ध्याम्पो फोर्ने प्रस्तुतिहरू समेत रहनेछन् । साथै सहभागीहरूले स्वादिष्ट बिबिक्यू परिकारसँगै रमाइलो वातावरणमा आपसी भेटघाट र मनोरञ्जन गर्न सक्नेछन् ।
कार्यक्रम सम्बन्धी थप जानकारीका लागि आयोजक समितिका पदाधिकारी तथा सम्पर्क व्यक्तिहरूसँग सम्पर्क गर्न सकिने जनाइएको छ ।