टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले लगानी, नागरिकता, आर्थिक सहभागिता तथा नेपाली डायस्पोरासँग नेपाल सरकारको सम्बन्ध सुदृढ बनाउने विषयलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको जनाएको छ । संघका अध्यक्ष डा. हेमराज शर्माले आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमार्फत यी मुद्दालाई अझ प्रभावकारी रूपमा अघि बढाइने बताएका हुन् ।
उनले नेपाल सरकारले पछिल्लो समय डायस्पोराका मुद्दालाई प्राथमिकतामा राख्न थालेको उल्लेख गर्दै त्यसप्रति उत्साह व्यक्त गरे। अध्यक्ष शर्माले लगानी, पर्यटन र व्यवसाय केन्द्रित क्षेत्रीय सम्मेलन एनआरएनएका लागि महत्वपूर्ण कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार सम्मेलन मार्फत दोस्रो पुस्ताका गैरआवासीय नेपाली तथा विभिन्न क्षेत्रमा क्रियाशील विज्ञहरूलाई समेत एकै मंचमा जोड्ने प्रयास गरिनेछ। साथै, आगामी १३औँ महाधिवेशनमा विदेशमा रहेका सबै पञ्जीकृत सदस्यलाई मतदानको व्यवस्था गरिने जानकारी पनि उनले दिए।
डा. शर्माले संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय एजेन्सीहरूसँग सहकार्य विस्तार गर्न संघभित्र छुट्टै संरचना निर्माण गरिएको समेत बताए।
चीनको ग्वाङ्झाउमा ‘आरोहण २०२६’
गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजनामा तथा विभिन्न राष्ट्रिय समन्वय परिषद्हरूको सहकार्यमा आगामी सन् २०२६ अगस्ट १५ र १६ मा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन “आरोहण २०२६” आयोजना हुने भएको छ।
“राइजिङ टुगेदर : कनेक्टिङ द नेपाली डायस्पोरा फर इन्भेस्टमेन्ट, टुरिज्म एन्ड जेनेरेशनल लिंक्स” मूल नारासहित आयोजना हुने सम्मेलनले विश्वभर रहेका नेपाली डायस्पोरालाई नेपालसँग आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपमा जोड्ने लक्ष्य लिएको छ।
सम्मेलनका संयोजक तथा एसिया–प्रशान्त क्षेत्रीय संयोजक दीपक कँडेलका अनुसार चीनको प्रमुख व्यापारिक केन्द्र ग्वाङ्झाउमा हुने सम्मेलनले एसिया–प्रशान्त क्षेत्रमा रहेका दक्ष तथा स्रोतसाधनयुक्त नेपाली डायस्पोरालाई नेपालको लगानी र पर्यटन अवसरसँग जोड्नेछ।
लगानीदेखि युवा पुस्तासम्मका मुद्दामा छलफल
दुईदिने सम्मेलनमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रवर्द्धन, व्यापार–व्यवसाय साझेदारी (बी–टु–बी नेटवर्किङ), जलविद्युत, पर्यटन, सूचना प्रविधि, कृषि तथा पूर्वाधार विकासका विषयमा विशेष छलफल गरिनेछ।
त्यसैगरी, श्रमिक सुरक्षा, महिला उद्यमशीलता, युवा सहभागिता तथा पुस्तान्तरणीय सम्बन्धलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ।
विशेषगरी विदेशमा जन्मिएका तथा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवालाई आफ्नो पहिचान, संस्कृति र मातृभूमिसँग जोड्ने उद्देश्यले संस्कृति, खेलकुद, साहसिक पर्यटन तथा ट्रेकिङमार्फत नेपालसँग भावनात्मक सम्बन्ध विस्तार गर्ने योजना प्रस्तुत गरिने जनाइएको छ।
पाँच सत्र, ‘ग्वाङ्झाउ घोषणा–२०२६’ जारी गरिने
सम्मेलनमा पाँच वटा विषयगत सत्र सञ्चालन हुनेछन्। पहिलो दिन अगस्ट १५ मा नेपाल र चीन सरकारका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागितामा उद्घाटन समारोह आयोजना हुनेछ। सोही दिन “नेपालमा लगानीका सम्भावना र डायस्पोरा साझेदारी” विषयमा विशेष सत्र सञ्चालन गरिनेछ।
दोस्रो दिन अगस्ट १६ मा पर्यटन प्रवर्द्धन, वैदेशिक रोजगारी, महिला तथा युवा उद्यमशीलता र पुस्तान्तरणीय सम्बन्धका विषयमा विस्तृत छलफल हुनेछ।
सम्मेलनको समापनसँगै “ग्वाङ्झाउ घोषणा–२०२६” जारी गरिनेछ, जसमा नेपाल सरकारलाई नीतिगत सुझाव तथा कार्ययोजना प्रस्तुत गरिने आयोजकले बताएका छन्।
सम्मेलनमा ६ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनको सञ्चालन सङ्गीता अधिकारीले गरेकी थिइन् भने कार्यक्रममा एनआरएनएका केन्द्रीय तथा क्षेत्रीय पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।