टोकियो, जापान ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आईसीसी) को ११औँ एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आगामी अगस्ट १५ र १६ मा चीनको व्यापारिक केन्द्र ग्वाङझाउमा आयोजना हुने भएको छ। सम्मेलनबारे जानकारी दिन आगामी मे २५ आइतबार भर्चुअल पत्रकार सम्मेलन गरिन लागिएको एसिया–प्रशान्त क्षेत्रीय संयोजक दिपक कडेलले जानकारी दिनुभयो ।
‘लगानी, पर्यटन र पुस्तान्तरणीय सम्बन्धका लागि नेपाली डायस्पोरालाई जोड्ने’ मूल नारासहित आयोजना हुन लागेको सम्मेलनले एनआरएनएभित्रको एकतापछि नयाँ ऊर्जा, सहकार्य र दीर्घकालीन रणनीतिक मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ। सम्मेलनको आयोजना एनआरएनएको एसिया–प्रशान्त क्षेत्रीय संयोजनमा हुने छ भने स्थानीय व्यवस्थापन राष्ट्रिय समन्वय परिषद् ९एनसीसी० चीनले गर्नेछ।
यसअघि थाइल्याण्डमा ‘मिलाप’ र कम्बोडियामा ‘संगम’ शीर्षकमा सम्पन्न सम्मेलनहरूको निरन्तरताका रूपमा ‘आरोहण २०२६’ लाई अझ प्रभावकारी, परिणाममुखी र दीर्घकालीन योजनासहित अघि बढाइने आयोजकको भनाइ छ।
सम्मेलनमा नेपाल सरकारका अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, पर्यटन मन्त्री खड्गराज पौडेल, विभिन्न सरकारी पदाधिकारी, सांसद, व्यवसायी तथा विश्वभरका नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहने जनाइएको छ।
आयोजकका अनुसार सम्मेलनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षण, पर्यटन प्रवर्द्धन तथा प्रवासी नेपालीबीच पुस्तान्तरणीय सम्बन्ध सुदृढ गर्ने लक्ष्य लिएको छ। विशेषगरी ग्वाङझाउ विश्वव्यापी व्यापारिक केन्द्र भएकाले व्यवसाय–व्यवसाय ९बीटूबी० नेटवर्क विस्तार, लगानी साझेदारी तथा नेपाली डायस्पोराको सीप, ज्ञान र पूँजीलाई नेपालको विकाससँग जोड्ने रणनीति निर्माण गरिनेछ।
सम्मेलनमा कृत्रिम बुद्धिमत्ता, पूर्वाधार, जलविद्युत, सूचना प्रविधि, कृषि र पर्यटन क्षेत्रका विज्ञहरूको दर्ता सूची तयार गरी नेपालको विकासमा परिचालन गर्ने योजना पनि अघि सारिएको छ। साथै रेमिट्यान्सलाई उत्पादनमुखी लगानीमा रूपान्तरण गर्ने, दक्षिण–पूर्व तथा पूर्वी एसियामा रहेका नेपाली श्रमिकहरूको हित संरक्षण गर्ने तथा युवा पुस्तालाई संस्कृति, खेलकुद र अनुभवमूलक कार्यक्रममार्फत जोड्ने उद्देश्य रहेको बताइएको छ।
कार्यक्रमको अन्त्यमा ‘ग्वाङझाउ घोषणा २०२६’ सार्वजनिक गर्दै कार्यान्वयनयोग्य सुझावहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।
एसिया–प्रशान्त क्षेत्रीय संयोजक दिपक कडेलले सम्मेलनलाई सफल बनाउन क्षेत्रभरिका एनआरएनए अभियन्ता, पदाधिकारी तथा राष्ट्रिय समन्वय परिषद्हरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेका छन्। उनका अनुसार एनआरएनएको एकतापछि आयोजना हुन लागेको यो सम्मेलनले नेपालमा लगानी, सहकार्य र विकासका नयाँ अवसर सिर्जना गर्ने विश्वास लिइएको छ।
यसैबीच, सम्मेलनबारे विस्तृत जानकारी दिन आयोजना गरिएको भर्चुअल पत्रकार सम्मेलन नेपाली समयअनुसार मे २५ आइतबार साँझ ५ बजे हुने आयोजकले जनाएको छ। सञ्चारकर्मी तथा सरोकारवालालाई कार्यक्रममा सहभागी हुन अनुरोध गरिएको छ।