टोकियो, काठमाडौं ।
जापानलाई कर्मथलो बनाएर लामो समयदेखि सामाजिक, व्यावसायिक तथा गैरआवासीय नेपाली संघ ९एनआरएनए० अभियानमा सक्रिय रहँदै आउनुभएका समाजसेवी तथा व्यवसायी ददिवल खड्काले एनआरएनएको आगामी कार्यकालका लागि उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।
विदेशमा बसोबास गर्ने नेपालीहरूको अधिकार संरक्षण, नेपालमा लगानी प्रवर्द्धन र विश्वभर फैलिएको नेपाली समुदायलाई एकताबद्ध गर्ने उद्देश्यका साथ आफुले २०२५ २७ कार्यकालका लागि खड्काले आफ्नो उम्मेदवारी सार्वजनिक गर्नुभएको हो ।
जापानस्थित नेपाली समुदायमा सक्रिय र परिचित व्यक्तित्वका रूपमा चिनिनुहुने खड्काले आफूलाई एनआरएनए अभियानको “सक्रिय अभियन्ता” का रूपमा प्रस्तुत गर्दै संस्थालाई अझ प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
एनआरएनए अभियन्ता खड्काका अनुसार, एनआरएनए केवल विदेशमा बस्ने नेपालीहरूको संगठन मात्र नभई नेपाल र विश्वभर रहेका नेपालीहरूबीच सम्बन्धको सशक्त सेतु हो । त्यसैले संस्थाको नेतृत्वले विश्वभरका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता रहेकोमा उहाँको जोड छ ।
एनआरएनए अभियानमा लामो समयदेखि सक्रिय
ददिवल खड्का विगत डेढ दशकदेखि गैरआवासीय नेपाली संघको गतिविधिमा सक्रिय रूपमा संलग्न रहँदै आउनुभएको छ । जापानमा रहेका नेपालीहरूको विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा खड्काले अग्रपंक्तिमा रहेर सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको छ ।
विशेष गरी जापानमा आयोजना हुने नेपाल फेस्टिवल, सांस्कृतिक कार्यक्रम, सामाजिक अभियान, विपद् राहत सहयोग तथा समुदायिक कार्यक्रमहरूमा खड्काको सक्रियता उल्लेखनीय मानिन्छ ।
जापानमा नेपाली समुदाय विस्तार हुँदै जाँदा खड्का नेपाली समुदायबीच समन्वय गर्ने, नयाँ पुस्तालाई सामाजिक गतिविधिमा जोड्ने तथा नेपाली संस्कृति र पहिचानलाई प्रवर्द्धन गर्ने काममा पनि सक्रिय रहँदै आउनुभएको छ ।
समाजसेवी व्यक्तित्वको रुपमा परिचित खड्काले विभिन्न अवसरमा विदेशमा रहेका नेपालीहरूले आफू बसेको देशमा मात्र होइन, मातृभूमि नेपालको विकासमा पनि योगदान गर्नुपर्ने धारणा व्यक्त गर्दै आउनुभएको छ ।
जापानमा व्यवसाय र सामाजिक सेवा
ददिवल खड्का जापानमा सफल व्यवसायीका रूपमा पनि चिनिनुहुन्छ । उहाँले जापानमा व्यवसाय विस्तार गर्दै नेपाली समुदायका लागि रोजगारी र अवसर सिर्जना गर्ने प्रयास गर्दै आउनुभएको छ ।
साथै उहाँ जापानका रहेका नेपाली व्यवसायीहरुको संस्था नेपाली व्यवसायी संघ जापानको वरिष्ठ उपाध्यक्ष लगायत विभिन्न संघसंस्थासँग पनि आवद्ध रहँदै आउनुभएको छ । व्यवसायिक क्षेत्रमा सक्रिय भए पनि उहाँले सामाजिक सेवामा विशेष प्राथमिकता सहित आफुलाई समर्पित गर्दै आउनुभएको छ ।
जापानमा बस्ने नेपालीहरूको समस्या समाधान, कानुनी तथा सामाजिक सहयोग, नयाँ आउने नेपालीहरूलाई मार्गदर्शन तथा समुदायबीच सहकार्य बढाउने काममा उहाँले निरन्तर भूमिका खेल्दै आउनुभएको छ ।
समुदायका विभिन्न अभियानहरूमा ददिवल खड्काको सक्रिय सहभागिताले उहाँलाई जापानस्थित नेपाली समुदायमा भरोसायोग्य र सक्रिय सामाजिक अभियन्ताका रूपमा स्थापित गरेको छ।
उम्मेदवारी घोषणा र मुख्य एजेन्डा
एनआरएनए उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गर्दै खड्काले आफूले अघि सारेका मुख्य एजेन्डाहरू सार्वजनिक गर्नुभएको छ ।
एनआरएनए अभियन्ता खड्काका अनुसार, आगामी दिनमा एनआरएनएलाई अझ प्रभावकारी संस्था बनाउने, विदेशमा रहेका नेपालीहरूको अधिकारको आवाज बुलन्द गर्ने र नेपालमा लगानी तथा सीप हस्तान्तरणलाई प्रोत्साहन गर्ने काममा आफू केन्द्रित रहनुहुनेछ ।
एनआरएनए उपाध्यक्ष उम्मेदवार खड्काले अघि साउनुएभका प्रमुख एजेन्डाहरू
१. विदेशमा रहेका नेपालीहरूको अधिकार संरक्षण
विश्वका विभिन्न देशमा बसोबास गर्ने नेपालीहरूले भोग्ने कानुनी, सामाजिक तथा प्रशासनिक समस्याहरू समाधान गर्न एनआरएनएलाई अझ सक्रिय बनाउने।
२. नेपालमा लगानी र विकास प्रवर्द्धन
विदेशमा रहेका नेपालीहरूको सीप, अनुभव र पूँजीलाई नेपालमा लगानी गर्न सहज वातावरण बनाउन पहल गर्ने।
३. युवा पुस्तालाई एनआरएनए अभियानमा जोड्ने
विदेशमा जन्मिएका वा हुर्किएका दोस्रो पुस्ताका नेपाली युवाहरूलाई एनआरएनए अभियानमा सहभागी गराउने र उनीहरूलाई नेपाली पहिचानसँग जोड्ने कार्यक्रम सञ्चालन गर्ने।
४. संस्थागत पारदर्शिता र एकता
एनआरएनएभित्र देखिने आन्तरिक विवाद र विभाजनलाई अन्त्य गर्दै संस्थालाई एकताबद्ध र पारदर्शी बनाउने।
५. विश्वभरका नेपाली समुदायबीच सहकार्य
एनआरएनए अन्तर्गत रहेका विभिन्न देशका राष्ट्रिय समन्वय परिषदहरूबीच सहकार्य र अनुभव आदानप्रदानलाई अझ मजबुत बनाउने।
खड्काले भन्नुभएको छ “एनआरएनए विश्वभर रहेका नेपालीहरूको साझा संस्था हो । यसलाई अझ बलियो, प्रभावकारी र एकताबद्ध बनाउनु आजको आवश्यकता हो।”
विदेशमा रहेका नेपालीको योगदान
खड्काले जापानसमाचारडटकम सँगको कुराकानीका क्रममा विदेशमा रहेका नेपालीहरूले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो ।
विशेष गरी वैदेशिक रोजगारीबाट आउने रेमिट्यान्स, लगानी, सीप र अनुभवले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।
तर खड्काले विदेशमा रहेका नेपालीहरूको योगदानलाई केवल रेमिट्यान्समा मात्र सीमित राख्न नहुनेमा जोड दिनुभयो ।
विदेशमा रहेका नेपालीहरूले हासिल गरेको सीप, ज्ञान, प्रविधि र व्यवस्थापन अनुभवलाई नेपालमा प्रयोग गर्न सके देशको विकासमा ठूलो परिवर्तन ल्याउन सकिने खड्काको धारणा छ ।
त्यसका लागि एनआरएनएले सरकार, निजी क्षेत्र र प्रवासी नेपालीबीच पुलको भूमिका खेल्नुपर्ने र आफुले त्यसमा पहल गर्ने खड्काको प्रतिवद्धता छ ।
नेपालसँग सम्बन्ध सुदृढ बनाउने प्रयास
ददिवल खड्काले विदेशमा बसोबास गर्ने नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्ने काम एनआरएनएको प्रमुख दायित्व भएको बताउनुभयो ।
उहाँका अनुसार विदेशमा बसे पनि नेपालीहरूको मन र भावना नेपालसँग जोडिएको हुन्छ। त्यसैले नेपालसँग आर्थिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई अझ मजबुत बनाउनुपर्ने आवश्यकता रहेको छ ।
उहाँले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारसँग सहकार्य गर्नुपर्ने आवश्यकतामा पनि जोड दिनुभयो ।
ददिवल खड्काको उम्मेदवारी घोषणा भएपछि जापानसहित विभिन्न देशमा रहेका एनआरएनए अभियन्ताहरूबाट सकारात्मक प्रतिक्रिया आउन थालेको बताइएको छ ।
खड्काको लामो सामाजिक अनुभव, व्यवसायिक पृष्ठभूमि र एनआरएनए अभियानप्रतिको प्रतिबद्धताका कारण धेरै प्रतिनिधिहरूले उनलाई सक्षम नेतृत्वका रूपमा हेरिरहेको बताइन्छ ।
जापानस्थित नेपाली समुदायका अगुवाहरूले पनि खड्काको उम्मेदवारीलाई सकारात्मक रूपमा लिएको बताएका छन् ।
ददिवल खड्काको एनआरएनए उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा केवल एनआरएनए नेतृत्वको यात्रा मात्र नभई विदेशमा रहेका नेपाली समुदायको आवाजलाई सशक्त बनाउने प्रयासका रूपमा हेरिएको छ ।
जापानमा लामो समयदेखि सामाजिक र व्यवसायिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएका खड्काले एनआरएनए अभियानलाई नयाँ ऊर्जा दिने अपेक्षा धेरैले गरेका छन् ।
अब आगामी अधिवेशन र निर्वाचन प्रक्रियाले नै खड्काको नेतृत्व यात्राको दिशा तय गर्नेछ । तर खड्काले अघि सारेका एजेन्डाहरू—एकता, लगानी, युवा सहभागिता र संस्थागत सुधार एनआरएनए अभियानका लागि महत्वपूर्ण विषयका रूपमा देखिएका छन् ।
विदेशमा रहेका लाखौँ नेपालीहरूको साझा संस्था एनआरएनएको भविष्य निर्माणमा खड्काको उम्मेदवारीले उत्साह थपेको एनआरएनए अभियन्ताहरुले प्रतिक्रिया दिन थालेका छन् ।
गैर आवासिय नेपाली संघको १२औँ महाधिवेशन यहि मार्च १४ देखि १६ तारिखसम्म काठमाडौंमा आयोजना हुँदैछ ।