टोकियो, जापान।
जापानमा रहेका राप्ती क्षेत्रका नेपालीहरूको साझा संस्था राप्ती समाज जापानको पाँचौँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि सुन्दर अधिकारीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
अधिवेशन दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख राजेन्द्र कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका अध्यक्ष पञ्चवीर चौधरीले सभापतित्व गर्नुभएको थियो भने अधिवेशन संयोजक विश्वेश्वर रेग्मीले निर्वाचन तथा सांगठनिक प्रक्रियाको संयोजन गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले प्रवासमा बसोबास गर्ने नेपालीहरूले आफ्नो भूगोल, भाषा, कला तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनमा देखाएको एकता र सक्रियता अत्यन्त प्रशंसनीय र प्रेरणादायी रहेको बताउनुभयो।
अधिवेशनको बन्द सत्रमा महासचिव सुन्दर अधिकारीले सांगठनिक प्रतिवेदन तथा कोषाध्यक्ष सुरेश पोख्रेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। दुवै प्रतिवेदन सहभागी सदस्यहरूले सर्वसम्मत रूपमा पारित गरेका थिए।
कार्यक्रमका क्रममा सह–सचिव मनोज मौसम के.सी.ले गजल प्रस्तुति दिनुभएको थियो भने दीपा के.सी.को मन्तव्यले कार्यक्रमलाई थप रोचक र अर्थपूर्ण बनाएको थियो।
अधिवेशनबाट चयन भएको नयाँ कार्यसमिति अनुसार वरिष्ठ उपाध्यक्षमा केशव भण्डारी, उपाध्यक्षमा युवन शाही र सुरेश पोख्रेल, महासचिवमा एनपी गैरे, सचिवमा मनोज मौसम के.सी., सह–सचिवमा निशा पोख्रेल, कोषाध्यक्षमा किरण जी.एम., सह–कोषाध्यक्षमा पप्पु न्यौपाने र राजु भुसाल तथा प्रवक्तामा निरज ओली चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा भीम गुरुङ, शरद गैरे, प्रविण क्षेत्री, अमित भण्डारी, दिप बुढामगर, गुञ्ज खड्का, दीपा के.सी., रेशमा चौधरी, कविता खनाल, गणेश आचार्य, आरजु के.सी., मनिराज पुन, लिला बुढामगर र लक्ष्मी शर्मा चयन हुनुभएको छ।
संस्थाका उपाध्यक्ष केशव भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव एनपी गैरेले गर्नुभएको थियो। अधिवेशन सम्पन्न गर्नका लागि संस्थापक अध्यक्ष विश्वेश्वर रेग्मीको संयोजकत्वमा शोभानसिङ खड्का र शरद पोख्रेल सदस्य रहने गरी तीन सदस्यीय अधिवेशन संयोजन समिति गठन गरिएको जानकारी संस्थाका सचिव **मनोज मौसम के.सी.**ले दिनुभएको छ।