(Japan) 27 th March | 2026 | Friday | 5:31:25 PM || (Nepal) 2:16:25 PM
 
 


व्यक्तिभन्दा संस्था माथि राख्न रोविन शेरचनको अपील, एनआरएनए महाधिवेशनअघि एकताको आह्वान

  POSTED ON : Wednesday, 18 February, 2026 | Views : 484

व्यक्तिभन्दा संस्था माथि राख्न रोविन शेरचनको अपील, एनआरएनए महाधिवेशनअघि एकताको आह्वान


टोकियो, जापान ।

गैरआवासीय नेपाली समुदायको साझा संस्था गैरआवासीय नेपाली संघ ९ल्च्ल्ब्० आगामी मार्च १४–१६ मा काठमाडौं मा हुने १२ औँ महाधिवेशनको तयारीमा जुटिरहेको बेला उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी रोविन शेरचनले संस्थाभित्र देखिएका विवाद समाधान गर्दै बृहत् एकताको वातावरण बनाउन सार्वजनिक अपील गरेका छन् ।

शेरचनले जारी गरेको अपीलमा हाल निर्वाचन प्रणाली, डेलिगेट्स छनोट तथा अन्य प्राविधिक विषयमा देखिएका असहमति र विवादप्रति चिन्ता व्यक्त गर्दै संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले “व्यक्तिभन्दा संस्था ठूलो हो” भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै व्यक्तिगत अडान र समूहगत स्वार्थभन्दा माथि उठेर प्रवासमा रहेका लाखौँ नेपालीको साझा संस्था बलियो बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका छन् ।

आगामी कार्यकालका लागि आफूले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुको मुख्य उद्देश्य “एकताबद्ध एनआरएनए” निर्माण गर्नु भएको शेरचनको भनाई छ । उनले निर्वाचन प्रक्रियालाई समावेशी, पारदर्शी र विश्वसनीय बनाउन विश्वभर रहेका सदस्यहरूले सहज रूपमा मतदान गर्न सक्ने व्यवस्था — चाहे अनलाइन वा भौतिक — सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

त्यस्तै, प्रधानमन्त्रीको उपस्थितिमा भएको १० बुँदे सहमतिको मर्मलाई सम्मान गर्दै महाधिवेशनलाई विवादमुक्त बनाउँदै “एकताको महाधिवेशन” का रूपमा सम्पन्न गर्न सबैलाई आग्रह गरिएको छ । शेरचनले सहमति र संवादको विकल्प नरहेको उल्लेख गर्दै असमझदारीको लागि हठ त्यागेर आपसी छलफलबाट साझा बिन्दुमा पुग्नुपर्ने बताएका छन् ।

उनले अन्त्यमा एनआरएनएको साख, गरिमा र विश्वसनीयता जोगाउँदै संस्थालाई थप उचाइमा पुर्‍याउन सबै सदस्य र नेतृत्व तहलाई एक ठाउँमा उभिन आह्वान गरेका छन् । शेरचनले एकता नै हाम्रो वास्तविक शक्ति भएको भन्दै सबैलाई एकजुट हुन आग्रह समेत गरेका छन् ।