टोकियो, जापान ।
कास्की पोखरा समाज जापानले हालै सम्पन्न एनआरएनए जापान (२०२५–२०२७) कार्यकालका लागि निर्वाचित पदाधिकारीहरुलाई औपचारिक सम्मान गरेको छ ।
एनआरएनए आईसिसिका उपाध्यक्ष रोविन शेरचनको उपस्थितिमा समाजले नवनिर्वाचित एनआरएनए जापानका अध्यक्ष सुभास लामिछाने लगायतलाई सम्मान गरेको हो । सो अवसरमा बोल्दै अध्यक्ष लामिछानेले जापानमा रहेका नेपाली समुदायको साझा हित र समृद्ध भविष्यका लागि सबै संघसंस्थाबीच सहकार्य र सहयात्रा आवश्यक रहेको धारणा राखेका थिए ।
कार्यक्रम कास्की पोखरा समाज जापानका अध्यक्ष कमल बास्तोलाको सभापतित्वमा सम्पन्न भएको थियो । महासचिव जीवन पोख्रेल ‘कन्चन’ले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष सरोज कार्कीले स्वागत मन्तव्य राखेका थिए ।
समारोहलाई सम्बोधन गर्ने अधिकांश वक्ताहरूले प्रवासमा नेपाली समुदायको पहिचान, गौरव र अधिकार सुनिश्चिततामा यस्ता संस्थागत एकताले महत्वपूर्ण योगदान पुर्याउनेमा जोड दिएका थिए । साथै, कास्की पोखरा समाज जापानले सञ्चालन गर्दै आएका सामाजिक, साहित्यिक र सांस्कृतिक अभियानलाई अझ सशक्त पार्दै कास्की–पोखराको पहिचानलाई जापान सहित विश्वभर उजागर गर्नुपर्ने आफ्नो धारणा राखेका थिए ।