(Japan) 12 th October | 2025 | Sunday | 10:28:50 AM || (Nepal) 7:13:50 AM
 
 

सिद्धार्थ श्रेष्ठ : एक अदृश्य उज्यालो !

sachin acharya   POSTED ON : Saturday, 26 July, 2025 | Views : 788

सिद्धार्थ श्रेष्ठ : एक अदृश्य उज्यालो !


८० को दशकको सुरुवाततिर बाग्लुङ्गको एउटा सानो गाउँ, बिहुमा एउटा बालक जन्मिन्छ-नाम राखिन्छ सिद्धार्थ श्रेष्ठ।

सामान्य परिवार, सामान्य परिवेश, तर जन्मिँदै उनलाई ईश्वरले केही असामान्य गुण सुम्पिएका थिए, अन्याय देख्न नसक्ने आँखा अनि दुःखीको आवाज सुन्न सक्ने मन ।

बचपनदेखि नै अलि हक्की, स्पष्ट बोल्ने, मनमा लागेको कुरा सबैले बुझ्ने गरि राख्ने – कतिलाई त रिस उठ्थ्यो होला तर त्यो हक्कीपनसितै लुकेको थियो एकदमै कोमल हृदय ।
सिद्धार्थको कथा यत्तिकैमा रोकिंदैन ।

समय बित्दै गयो ।

जीवनले उनलाई जापान पुर्यायो । एक सपनाको देश । तर त्यहाँ पुगेपछि उनले बुझे, सपनाको देशमा पनि दुःखका आँसु हुन्छन्, विशेषगरी आफ्नो देशबाट टाढा परेका नेपालीहरूका आँखामा ।

कहिले काही आफ्नै जरुरी काममा कतै निस्कँदै गर्दा उनलाई गुहारको सुचना या कल आउँछ, तब उनि आफ्नै कामलाई थाति राखी असहज परिस्थिति भोगेकाहरुको निमित्त सहयोगी बन्न हतारिन्छन् । उनलाई आफ्नो व्यक्तिगत कुराको कुनै परवाहै लाग्दैन।

सन् २०२१-कोभिडको आतंकले संसार थला पर्यो ।

जापानमा बसेका नेपाली सबै बिचल्लीमा परे ।

भाषा बुझ्न सक्दैनन्, सरकारी प्रक्रिया बुझ्न झन्झटिलो, स्थिति डर लाग्दो भयो । तर धेरै नेपालीका लागि 'सिद्धार्थको फोन नम्बर' नै जीवनरेखा बन्यो ।

एक दिनमा सयौं फोन –

दाजु, मलाई बास छैन

दाजु खाना सकियो

दाजु, काम नै भएन

दाजु, अस्पताल जानु छ

र उनले आफ्नो क्षमताले गर्नुभन्दा बढी गरिरहे ।

फोन चलिरह्यो, मोबाइलको ब्याट्री सकिन्थ्यो तर सिद्धार्थको मन कहिले पनि थाकेन ।

मनले सबैलाई सहयोग गर्न चाहेपनि त्यो सम्भव थिएन । धेरै नेपाली घरबाट निस्कने अवस्था नहुँदा सिद्धार्थ चामल, दाल र तरकारी बोकेर नेपालीको कोठा कोठामा पुगे, अस्पताल अस्पताल पुगे । अन्ततः उनी आफैं कोरोना भाइरसको शिकार बने । सानो कोठा, स्वास्थ्यलाई ख्याल गर्ने श्रीमती दुवै र छेउमै थला परे सिद्धार्थ ।

कोभिडबाट थलिएपछिको अवस्था सिद्धार्थ यो जुनिमा विर्सदैनन् । कोभिड संक्रमण पछि चरम पिडा भोगिरहेका उनलाई जापान सरकारले अस्पताल भर्ना गर्न पुरा ३ दिन लगायो । स्वस्थ श्रीमतीसँग कोभिड संक्रमित अवस्थामा आफू एउटै रुम 'सेयर' गरेर बस्नुपर्दा उनलाई असहय पिडा भयो । आफ्नै कारण श्रीमतीलाई कोभिड महामारीमा दुःख र कष्ट व्यहोर्नु परेको सम्झँदा आज पनि उनी दुःखी हुन्छन्। उनले यो २० वर्षमा धर्मपत्नी दुर्गालाई दिएको यो सबै ठूलो पिडा हो भन्ने सम्झन्छन् ।

तर त्यही पीडाबाट फेरि बाहिर निक्लिएर सेवामा लाग्छन् उनि, नेपालीको संकटमा सहयोगी सिद्धार्थ श्रेष्ठ ।

जापानको नेपाली समुदायले सिद्धार्थलाई चिन्न थालेको चाहिँ बाग्लुङ्ग समाजको गठन भएपछि हो । अधिकांश बाग्लुङ्गे भएको शहरमा समस्या पनि बाग्लुङ्गैका धेरै आउन थालेपछि समग्र सञ्जाललाई समेट्ने समाजको आवश्यकताले उनी लगायतले बाग्लुङ्ग समाजको गठन गरेका हुन् ।

जुन बिन्दुबाट उनले जापानभरिका समस्यामा परेका नेपालीलाई एकजुट पार्ने र सहयोग गर्ने अभियान सुरु गरे पछि एनआरएनए जापानको प्रवक्ता बन्न पुगे।

त्यसपछि त लाग्यो – जसको कुनै उपाय छैन, त्यसको अन्तिम उपाय सिद्धार्थ श्रेष्ठ नै हुन् ।

हराएका, टुक्रिएका, बिछोडिएका परिवारहरू

जेलमा रहेका, सडकमा पुगेका, मानसिक तनावमा परेका –

सबैको साझा केन्द्र एकै व्यक्ति – सिद्धार्थ श्रेष्ठ ।

जापान मात्र हैन, नेपालबाट समेत जापानमा सिद्धार्थ श्रेष्ठ भन्ने मान्छे छ रे, उसले केहि गर्छ भन्ने आशाले धेरै परिवारले उनलाई सम्पर्क गर्न थाले । किर्तिपुरका एक व्यक्ति सिजोउकाको जेलमा रहेको खबर जब सिद्धार्थले परिवारलाई सुनाए, परिवार छोरो जेलमा छ भन्ने सुन्दा मात्रै पनि मुस्कुराए थिए । किनभने छोरा रहे नरहेको भन्नेमै चिन्तित भएर शोकमा डुबेको परिवारमा जीवनको आशा मरेको थियो, र सिद्धार्थले त्यसमा आशा जगाइदिए ।

पुल मुनि दाउराको आगो बाली डेढ महिनासम्म जीवन चलाएका झापाका एक व्यक्तिलाई सिद्धार्थले नयाँ जीवन दिए । उनी आज नेपाल फर्केर सिद्धार्थको जयजयकार गर्छन् रे । डिप्रेसनको शिकार भएकाहरूको हिजो आजपनि दैनिक उनको फोनमा घन्टी बज्छ। उनी भन्छन् कामले मलाई मोटिभेटर पनि बनायो कि । धेरैले आफू संग कुरा गरेपछि जीवन परिवर्तन गर्ने विश्वास पलाएको बताएको मात्रै उनको मेमोरीमा छ ।

सिद्धार्थलाई सबैभन्दा बढी खुशी त्यस बेला लाग्छ जब परिवारले आफ्नो हराएको सन्तानको खोजी गरेको हुन्छ । तब उनले 'तपाईंको छोरा छोरी जीवित छ' भनेर सुनाउन पाउँछन् । यसै सम्बन्धमा उनी सबैभन्दा बिछिप्त भएको एउटा घटना छ – नेपाली छोरी आरती आरती खनाललाई जीवित फेला पार्न नसकेको घटनाले उनको करिब एक महिना सहज परिस्थितिमा आउन सकेनन् रे।

जीवित फेला पार्न नसकेको त्यो आत्मा आज पनि उनलाई केहिलेकाँही सपनामा झझल्को दिलाउँछ ।

पूर्वका प्रशान्त श्रेष्ठको घटनाले भने उनलाई अचम्ममा पार्यो । परिवारको हार गुहार पछि सिद्धार्थ प्रशान्तलाई भेट्न तत्पर भए तर प्रशान्तले आफ्नो परिवार संग सम्पर्कमा आउन नचाहेको कुराले उनी आश्चर्यचकित भए । यद्यपि प्रशान्तलाई सम्झाई बुझाई परिवारसंग कुरा गराउँदा आफूलाई धेरै ठूलो सुकुन मिलेको उनको भनाइ छ ।

आज पनि कैयौं व्यक्ति जापानमा सम्पर्क बिहिन् छन् । कैयौं जेलमा छन्, कैयौं अस्पतालको बेडमा । यी सबैलाई उनी सकेसम्म नेपाल फर्काउने, खोजिनिति गर्ने र उपचार गराई बाबु आमाको जिम्मा लगाउन पाए भन्ने सोचिरहन्छन् ।

सिद्धार्थलाई यो १७ वर्षको जापान बसाइमा छोटो बाटो हुदै पैसा कमाउने अवसर नआएको होइन। जीवनमा पैसा कमाउने छोटो बाटो उनकै ढोकामा आए।

तर उनले – सेवाको बाटो रोजे ।

उनका लागि श्रीमतीलाई कन्भिनियन्स स्टोरमा बाईतो र आफूलाई आफ्नै रेस्टुरेन्टबाट आएको धेरथोर मुनाफाले जीवन चलाउन पाए पुगेको छ । उनीहरूसँग धेरै ठूलो इच्छा चाहना छैन । उनलाई आकाशमा उड्नु छैन, उनलाई धर्ती छोड्नु छैन ।

उनी अर्थात् सिद्धार्थ श्रेष्ठ – जापानको नेपाली समुदायको एउटा युगको साक्षी हुन् । एक युगले नसुनेको अदृश्य उज्यालोको कहानी हो । जसलाई थप अघि बढ्न प्रेरणा र हौसलाको लागि जापानवासी नेपालीहरुले जुलाई २७ तारिख अर्थात् भोली जुलाई २७ तारिख एनआरएनए जापानको २०२५-२७ कार्यकालको चुनावमा अध्यक्ष पदमा मतदान दिएर बिजयी गराउनुपर्ने जिम्मेवारी आएको छ ।