(Japan) 15 th April | 2026 | Wednesday | 12:36:48 PM || (Nepal) 9:21:48 AM
 
 


अमेरिकाद्धारा भेनेजुएलामाथि आक्रमण : राष्ट्रपति निकोलास मदुरोलाई कब्जामा लिएको ट्रम्पको उद्घोष

  POSTED ON : Sunday, 04 January, 2026 | Views : 760

अमेरिकाद्धारा भेनेजुएलामाथि आक्रमण : राष्ट्रपति निकोलास मदुरोलाई कब्जामा लिएको ट्रम्पको उद्घोष


एजेन्सी ।

भेनेजुएलाको तेल भण्डारणमाथि गिद्दे नजर लगाउँदै आएको आरोप खेप्दै आएको अमेरिकाले अन्तत राष्ट्रपति डोनल्ड ट्रम्पको ठाडो आदेशपछि भेनेजुएलामाथि सैन्य आक्रमण गरेको छ । अमेरिकाले 'भेनेजुएलाविरुद्ध ठूलो आकारमा गरेको आक्रमण' मा त्यहाँका राष्ट्रपति निकोलास मादुरो र उनकी श्रीमतीलाई कब्जामा लिएको ट्रम्पले सामाजिक सञ्जाल मार्फत उद्घोष गरेका छन् ।

मादुरोको निवासमा आक्रमण गरेर अमेरिकी सेनाले उनिहरुलाई देशबाहिर लगिसकेको ट्रम्पले आफ्नो सोसल मिडिया पोस्टमा लेखेका छन्।

मदुरोलाई कसरी पक्राउ गरियो वा कहाँ लगियो भन्ने बारेमा ट्रम्पले थप विवरण दिएका छैनन् भने भेनेजुएला सरकारले अहिलेसम्म यसको पुष्टि गरेको छैन ।

भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोद्रिगेजले राष्ट्रपति मदुरो वा प्रथम महिला रहेको स्थानका बारेमा आफ्नो सरकारलाई कुनै जानकारी नभएको बताएकी छन् ।

सरकारले उनीहरू दुवैको ूतत्काल जीवनको प्रमाणूको माग गरेको छ ।

यसअघि भेनेजुएलाको राजधानी कराकाससहित देशका विभिन्न भागहरूमा विस्फोटहरू भएका विवरण आएका थिए।

जसक्रममा सीबीएस न्यूजलाई अमेरिकी अधिकारीहरूले राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका सैन्य केन्द्रहरूसहितका स्थानमा आक्रमण गर्न आदेश दिएको बताएका थिए ।

भेनेजुएलाको सरकारले उक्त आक्रमण वासिङ्टनले गरेको बताउँदै 'अमेरिकी आक्रामकतालाई नस्वीकार्ने' बताउँदै राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ।

यसअघि राष्ट्रपति मदुरोले उक्त हमला अमेरिकाले आफ्नो देशको तेल र खनिज पदार्थ खोस्ने प्रयासको रूपमा गरेको भन्दै त्यसको निन्दा गरेका थिए।

प्रभावितमध्ये राजधानी सहरको केन्द्रमा अवस्थित हवाई क्षेत्रसहितको सैन्य क्षेत्र र फोर्ट ट्युनाको मुख्य सैनिक अखडा छन्। त्यस आसपासका कैयौँ समुदायहरू विद्युतविहीन बनेका छन्।

सहरमाथि धुवाँको मुस्लो उठेको देखिएको छ। स्थानीय सञ्चारमाध्यमका खबरमा विस्फोटहरूसँगै विमानहरू उडेको आवाज पनि सुनिएको बताइएको छ।

वासिङ्टनले मदुरोलाई पक्राउ गर्न सघाउनेगरी जानकारी दिनेलाई ५ करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको थियो।

भेनेजुएला सरकारले यसअघि वाशिङ्गटनले हालै गरेका तेल ट्याङ्करहरू कब्जा गर्नेसहितका कारबाहीहरू राष्ट्रपति मदुरोलाई सत्ताबाट हटाउन र भेनेजुएलाको तेल भण्डार नियन्त्रण गर्न बाध्य पार्ने प्रयासको एउटा अंश भएको जनाएको थियो ।

यसैबिच अमेरिकी सिनेटरले रुबियोले उनलाई अमेरिकामा मुद्दा चलाउन मादुरोलाई पक्राउ गरिएको बताएकाको खुलासा गरेका छन् ।

रिपब्लिकन अमेरिकी सिनेटर माइक लीले शनिबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनलाई भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिकामा आपराधिक आरोपमा मुद्दा चलाउन अमेरिकी सेनाले पक्राउ गरेको बताएका उल्लेख गरेका छन् ।

'उनी (रुबियो) अब मादुरो अमेरिकी हिरासतमा रहेको भेनेजुएलामा थप कुनै कारबाहीको अपेक्षा गर्दैनन्' लीले वाशिंगटनका शीर्ष कूटनीतिज्ञसँगको फोनवार्तापछि एक्समा लेखेका छन् ।

महिनौँदेखि भेनेजुएलालाई दबाबमा राखेर र दक्षिण क्यारबियन सागरमा अमेरिकी सेना युद्धपोतसहित परिचालन भएपछि यी आक्रमणहरू भएका छन्।

अमेरिकाले भेनेजुएलाबाट लागूपदार्थ तस्करी गरिरहेको भनिएका साना डुङ्गाहरूमा बारम्बार आक्रमण गरेको छ।

सेप्टेम्बरयता अमेरिकाले प्रशान्त र क्यारबियनमा पानीजहाज र लागुऔषध तस्करी गर्ने डुङ्गाहरूमाथि ३० वटा आक्रमण गरिसकेको छ।

सेप्टेम्बर २ मा अमेरिकाले अन्तर्राष्ट्रिय जल क्षेत्रको डुङ्गामाथि पहिलो आक्रमण गरेदेखि ११० भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ।

वासिङ्टनले निकोलास मदुरोलाई भेनेजुएलाका वैध राष्ट्रपतिको रूपमा मान्यता दिँदैन र लागूपदार्थ तस्करीको आरोपमा उनको पक्राउ गर्नेका लागि पुरस्कारको व्यवस्था गरेको छ।

राष्ट्रपति ट्रम्पले सैन्य हस्तक्षेपको धम्की दिइरहेका छन् र मदुरोलाई सत्ता त्याग्न आग्रह गरेको भनिएका विवरण आएका छन्।

मदुरोले भने अमेरिकाले भेनेजुएलाको तेल भण्डार कब्जा गर्न खोजेको आरोप लगाएका छन्। तर उनले शान्ति र वार्ताको लागि अपिल समेत गरिरहेका थिए।