(Japan) 21 st May | 2026 | Thursday | 12:54:09 PM || (Nepal) 9:39:09 AM
 
 


गाजा सहायता बोकेको जहाजका अभियन्तामाथि इजरायली मन्त्रीको दुर्व्यवहारको विश्वभर आलोचना

  POSTED ON : Thursday, 21 May, 2026 | Views : 120

गाजा सहायता बोकेको जहाजका अभियन्तामाथि इजरायली मन्त्रीको दुर्व्यवहारको विश्वभर आलोचना


एजेन्सी ।

गाजातर्फ राहत सामग्री लिएर गइरहेका अन्तर्राष्ट्रिय अभियन्ताहरूलाई नियन्त्रणमा लिएपछि उनीहरूमाथि गरिएको शारिरिक यातना र दुर्व्यवहारका कारण इजरायल पुनः अन्तर्राष्ट्रिय आलोचनामा मुछिएको छ ।


इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामर बेन गभिरले हिरासतमा रहेका गाजा समर्थक अभियन्ताहरूलाई अपमानजनक शैलीमा व्यंग्य गरेको र उक्त बेलामा केहि हातपात तथा यातना दिनेगरि बन्धक बनाइएको भिडियो सार्वजनिक भएपछि विश्वका विभिन्न देशहरूले तीव्र आलोचना गरेका हुन् ।


उक्त भिडियोमा हात पछाडि बाँधेर घुँडा टेकाइएका अभियन्ताहरूको अगाडि बेन–गभिर इजरायली झण्डा फहराउँदै “इजरायलमा स्वागत छ, हामी यहाँका मालिक हौं” भन्दै व्यंग्य गरेको देखिन्छ । भिडियो सार्वजनिक भएलगत्तै अमेरिका, बेलायत, फ्रान्स, क्यानडा, इटाली, अष्ट्रेलिया लगायतका देशहरूले इजरायलको कदमलाई “मानव मर्यादाविपरीत” र “लज्जास्पद” भन्दै आपत्ति जनाएका छन् । रोचक कुरा के भने गाजा युद्ध र नरसंहारमा ईजरायललाई पूर्ण रुपमा हतियार र सबै सहयोग गर्दै आइरहेको अमेरिकाले तिनै अभियन्ताहरुमाथि प्रतिबन्ध लगाइरहँदा इजरायली कदमको भने बिरोध जनाएको छ ।


गाजातर्फ जाँदै गरेको ‘ग्लोबल सुमुद फ्लोटिला’ नियन्त्रणमा

“ग्लोबल सुमुद फ्लोटिला” नाम दिइएको अभियान अन्तर्गत ४० भन्दा बढी देशका करिब ४३० अभियन्ता सहभागी थिए । ५० भन्दा बढी डुंगा तथा जहाजहरू टर्कीबाट गाजातर्फ प्रस्थान गरेका थिए । उनीहरूले गाजाका पीडित नागरिकका लागि खाना, शिशु आहार तथा औषधिजन्य सहायता बोकेका थिए ।


तर सोमबार साइप्रसको पश्चिमी समुद्री क्षेत्रमा इजरायली नौसेनाले ती जहाजहरू रोकेको थियो । इजरायली कमाण्डोहरूले जहाजहरूमा चढेर नियन्त्रणमा लिएको फ्लोटिलाका आयोजकहरूले बताएका छन् । उनीहरूले इजरायलमाथि अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा “गैरकानुनी सैन्य आक्रमण” गरेको आरोप लगाएका छन् ।


आयोजकहरूका अनुसार केही जहाजमाथि गोली चलाइएको, पानीको फोहोरा प्रहार गरिएको र एउटा जहाजलाई जानाजानी ठोक्काइएको थियो । यद्यपि इजरायलले वास्तविक गोली प्रयोग नगरिएको दाबी गर्दै गाजामाथिको समुद्री नाकाबन्दी “कानुनी” भएको जिकिर गर्दै आएको छ ।


भिडियोपछि आफ्नै सरकारभित्र पनि विवाद

मन्त्री बेन–गभिरको व्यवहारको आलोचना केवल अन्तर्राष्ट्रिय स्तरमै सीमित रहेन । अन्तर्राष्ट्रिय अदालतद्धारा गाजा नरसंहारमा युद्ध अपराधीको रुपमा पक्राउ पुर्जी जारि गरिएका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले समेत उनको व्यवहार “इजरायलको मूल्य र मान्यताअनुसार नभएको” बताएका छन्।


इजरायलका विदेशमन्त्री गिदिओन सारले पनि सामाजिक सञ्जालमार्फत बेन–गभिरमाथि आक्रोश व्यक्त गर्दै “तपाईंले देशको छविमा क्षति पुर्‍याउनुभयो” भनि टिप्पणी गरेका थिए ।


तर बेन–गभिरले आफू पछि नहट्ने संकेत गर्दै “इजरायल अब कमजोर राष्ट्र होइन” भन्दै प्रतिवाद गरेका छन् ।


विभिन्न देशद्वारा इजरायली राजदूत बोलाइयो

बेलायतकी विदेशमन्त्री याभेत कूपरले भिडियोलाई “पूर्ण रूपमा घृणित दृश्य” भन्दै इजरायली दूतावाससँग तत्काल स्पष्टीकरण मागिएको बताएकी छन् ।


क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अभियन्तामाथिको व्यवहारलाई “अमानवीय” बताएका छन्। अष्ट्रेलिया, फ्रान्स, स्पेन, बेल्जियम, नेदरल्यान्ड्स लगायत देशहरूले पनि इजरायली राजदूतलाई बोलाएर विरोध जनाएका छन् ।


मानवअधिकार संस्था “अदालाह” ले हिरासतमा रहेका अभियन्ताहरूलाई “अपमान र दुर्व्यवहार” गरिएको आरोप लगाउँदै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।


गाजाको अवस्था अझै भयावह

गाजामा गत वर्ष अक्टोबरदेखि इजरायली आक्रमण तथा नरसंहारका कारण मानवीय संकट गहिरिँदै गएको छ। संयुक्त राष्ट्रसंघका अनुसार गाजाका अधिकांश २१ लाख नागरिक विस्थापित भएका छन्। धेरै परिवार भीडभाड भएका अस्थायी टेन्ट वा ध्वस्त भवनमा बस्न बाध्य छन् ।


स्वच्छ पानी, स्वास्थ्य सेवा, औषधि, इन्धन र खाद्यान्नको अभाव गम्भीर रहेको राष्ट्रसंघले जनाएको छ। सहायता सामग्री प्रवेशमा इजरायलले लगाएका विभिन्न प्रतिबन्धका कारण मानवीय सहायता प्रभावकारी रूपमा वितरण हुन नसकेको राष्ट्रसंघले बताएको छ ।


युद्धको पृष्ठभूमि

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा दक्षिणी इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको थियो। उक्त आक्रमणमा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाइएको थियो।


त्यसपछि इजरायलले गाजा क्षेत्रलाई तहसनहस बनाउनेगरि बमबारी र नरसंहार मच्चाउँदै आएको छ । गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म इजरायली सेनाको नरसंहारमा ७२ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । मारिएका मध्ये अधिकांश महिला र बालबालिका सहित सर्वसाधारण रहेका छन् । युद्धबिराम घोषणाका बिचमा पनि इजरायलले दैनिक जसो गाजा क्षेत्रमा बमबारी तथा गोली प्रहार एवं इजरायली अतिक्रमणकारीहरुले गाजाका नागरिकहरुमाथि इजरायली सेनाकै संरक्षणमा आक्रमण र ज्यान लिने घटनाहरु सार्वजनिक भइरहेका छन् ।