(Japan) 16 th April | 2026 | Thursday | 4:38:00 AM || (Nepal) 1:23:00 AM
 
 


जापान र चीन विवाद चुलियो : चीन, मकाउ र हङकङद्धारा जापान भ्रमण र विद्यार्थी रोक्ने संकेत, फ्लाईट पनि रद्द

  POSTED ON : Monday, 17 November, 2025 | Views : 1046

जापान र चीन विवाद चुलियो : चीन, मकाउ र हङकङद्धारा जापान भ्रमण र विद्यार्थी रोक्ने संकेत, फ्लाईट पनि रद्द


टोकियो, जापान ।

ताईवानको बारेमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीले दिएको विवादास्पद अभिव्यक्तिले चीन र जापान बिचको विवाद चुलिन थालेको छ । यति मात्र नभई चीनसँगको विवादको असर मकाउ सहित हङकङसम्म पुगेको छ ।

चीन सरकारले जापान घुम्न नजान आफ्ना नागरिकलाई आग्रह गरे लगत्तै मकाउ र हङकङले समेत चीन भ्रमणमा सतर्कता अपनाउन सूचना जारी गरेका छन् । यस बाहेक चीन सरकारले जापानमा रहेका चिनिया विद्यार्थीलाई सर्तकता अपनाउन समेत आग्रह गरेको छ ।

हङकङ सरकारको सुरक्षा ब्युरोले जापानको यात्रा गर्दा उच्च सतर्कता अपनाउन आफ्ना नागरिकहरूलाई आग्रह गरेको छ। नोभेम्बर १६ मा जारी यो चेतावनी चिनियाँ सरकारले आफ्ना नागरिकहरूलाई जापान भ्रमणमा संयमता अपनाउन गरेको आग्रहलाई पछ्याउँदै आएको हो ।

ब्युरोले आफ्नो वेबसाइटमा यस वर्षको मध्यदेखि जापानमा चिनियाँ नागरिकहरूमाथि आक्रमणका घटनाहरू बढेको उल्लेख गरेको छ ।

मकाउ सरकारको पर्यटन विभागले जापानमा रहेका वा जान लागेका आफ्ना नागरिकहरूलाई सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ। चीनको विदेश मन्त्रालयले हालै जारी गरेको जापान यात्रासम्बन्धी सूचना र जापानमा चिनियाँ नागरिकमाथि आक्रमणका घटनाहरू बढेको सन्दर्भमा यो चेतावनी दिइएको हो ।

मकाउका अधिकारीहरूले जापानको स्थितिको निरन्तर निगरानी गरिरहेको र आफ्ना ट्राभल अलर्ट वेबसाइटमा विशेष सूचना अद्यावधिक गरिएको बताएका छन्। जापानमा रहेका वा यात्राको तयारीमा रहेका मकाउका बासिन्दाहरूलाई सुरक्षित रहन, स्थानीय घटनाक्रम र चीनका दूतावासरकन्सुलटहरूका सूचनाहरूमा ध्यान दिन भनिएको छ ।

यसैबीच, मकाउ एयरलाइन्सले नोभेम्बर १५ देखि डिसेम्बर ३१ सम्मका लागि जापानको टिकट खरिद गरेका यात्रुहरूलाई निशुल्क रद्द वा मिति परिवर्तनको सुविधा दिने घोषणा गरेको छ ।

चीनको शिक्षा मन्त्रालयले जापानमा उच्च शिक्षा हासिल गर्ने योजनामा रहेका आफ्ना नागरिकहरूलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरेको छ। यो कदमलाई जापानी प्रधानमन्त्री सानाए ताकाइचीको ताइवानबारेको हालैको टिप्पणीविरुद्ध चीनको जवाफी कारबाहीको रूपमा हेरिएको छ। 

प्रधानमन्त्री ताकाइचीले ताइवानमा कुनै विपत्ति आएमा जापानको 'अस्तित्व खतरामा पार्ने अवस्था' सिर्जना हुन सक्ने र यसले सामूहिक आत्मरक्षाको अधिकार प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने बताएकी थिइन्। शुक्रबार चिनियाँ विदेश मन्त्रालयले पनि आफ्ना नागरिकहरूलाई जापान भ्रमण नगर्न सल्लाह दिँदै जापानी नेताको भनाइले चिनियाँ जनताको सुरक्षामा गम्भीर जोखिम उत्पन्न गरेको दाबी गरेको थियो। 

यो विवादले दुई देशबीचको कूटनीतिक सम्बन्धमा थप तनाब बढाएको छ। जापानी अर्थतन्त्रका लागि महत्त्वपूर्ण मानिने चिनियाँ पर्यटक र विद्यार्थीको संख्यामा यसले असर गर्न सक्छ।