(Japan) 4 th April | 2026 | Saturday | 4:43:32 AM || (Nepal) 1:28:32 AM
 
 


उत्तर कोरियाद्वारा जापान सागरतर्फ १० वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण

  POSTED ON : Sunday, 15 March, 2026 | Views : 440

उत्तर कोरियाद्वारा जापान सागरतर्फ १० वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण


टोकियो, जापान ।

उत्तर कोरियाले शनिबार मध्यान्ह जापान सागरतर्फ करिब १० वटा ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यास सञ्चालन गरिरहेको समयमा भएको हो ।

अमेरिका र दक्षिण कोरियाली संयुक्त सेनका चिफ स्टाफका अनुसार ती मिसाइलहरू उत्तर कोरियाको सुनान क्षेत्रबाट दिउँसो करिब १ः२० बजे प्रक्षेपण गरिएको थियो । यस वर्ष उत्तर कोरियाले गरेको यो तेस्रो ब्यालेस्टिक मिसाइल प्रक्षेपण हो ।

दक्षिण कोरियाली सेनाले उत्तर कोरियाको सम्भावित थप प्रक्षेपणको निगरानी गर्दै उच्च सतर्कता अपनाइएको र मिसाइलसम्बन्धी जानकारी अमेरिका र जापानसँग सेयर गरिरहेको जनाएको छ ।

जापान तटरक्षकले ब्यालिस्टिक क्षेप्यास्त्र जस्तो देखिने वस्तु उत्तर कोरियाबाट प्रहार गरिएको जनाएको छ ।

जापानको रक्षा मन्त्रालयका अधिकारीहरूले यो जापानको विशेष आर्थिक क्षेत्र बाहिरको पानीमा खसेको पुष्टि गरेका छन् ।

यो प्रक्षेपण दक्षिण कोरिया र अमेरिकाले संयुक्त रूपमा सञ्चालन गर्ने वार्षिक सैन्य अभ्यास सुरु भएको सन्दर्भमा भएको हो । ११ दिनसम्म चल्ने उक्त अभ्यास गत सोमबारबाट सुरु भएको थियो ।

उत्तर कोरियाले लामो समयदेखि यी संयुक्त सैन्य अभ्यासलाई आफ्नो देशमाथि आक्रमणको अभ्यासको रूपमा आलोचना गर्दै आएको छ । तर सउल र वाशिङ्टनले भने यी अभ्यास पूर्ण रूपमा रक्षात्मक भएको बताउँदै आएका छन् ।

यसैबीच उत्तर कोरियाली नेता किम जङ उनकी बहिनी किम यो जङले यस साताको सुरुमै उक्त सैन्य अभ्यासको कडा आलोचना गर्दै “कल्पनाभन्दा बाहिरका भयानक परिणाम” निम्तिन सक्ने चेतावनी दिएकी थिइन् ।

यसबीच दक्षिण कोरियाका प्रधानमन्त्री किम मीन सकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग वार्ता पुनः सुरु गर्ने विषयमा सकारात्मक रहेको बताएका छन्, यद्यपि त्यसको समयबारे भने स्पष्ट नभएको जनाइएको छ ।

ट्रम्पले मार्च अन्त्यदेखि अप्रिल सुरुबीच चीन भ्रमण गर्ने तयारी गरिरहेका बेला उनले चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्ने कार्यक्रम छ । सोही क्रममा उत्तर कोरियाली नेता किम जोंग उनसँग पनि भेट हुन सक्ने अड्कल गरिएको छ ।