एजेन्सी ।
नेपालमा होलि वाईन काण्ड देखि जापानमा युनिफिकेसन चर्चको काण्डका बिच दक्षिण कोरियाबाट क्रिश्चियन धर्म प्रचारको लागि एक डलर सहित बोतलमा चामल र बाईबल राखेर उत्तर कोरिया पठाउनेहरु पक्राउ परेका छन् ।
क्रिश्चियानिटि प्रचार गर्न बाईबल समेत बोतलमा राखेर समुद्रमा उत्तर कोरिया तर्फ पठाउनेहरु शुक्रबार बिहान इनछनको गाङह्वा-गुनमा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ६ जना अमेरिकी नागरिकहरू रहेका छन् । जसले चामल, एक डलरको नोट र बाइबल भरिएको १,३०० प्लास्टिक बोतल उत्तर कोरियातर्फ पठाउने प्रयास गरिरहेका थिए ।
दक्षिण कोरियाली सेनाले निगरानी क्यामेराबाट देखेपछि प्रहरीले उनीहरूलाई समातेको हो । बोतल समुद्रमा फाल्न नपाउँदै नियन्त्रणमा लिइएको दक्षिण कोरियाली समाचार संस्थाहरुले उल्लेख गरेको छ ।
कोरियाली भाषा राम्रोसँग नबुझ्ने भएकाले अनुसन्धानका लागि अनुवादक खटाइने प्रहरीले जनाएको छ ।
गाङह्वा-गुनबाट सामग्री पठाउन गत वर्ष नोभेम्बर १ देखि प्रतिबन्ध लागु छ, स्थानीयको सुरक्षा र गुनासोलाई ध्यानमा राखेर यसो गरिएको हो ।
यसअघि पनि नोभेम्बर ३ मा एक जना व्यक्ति १२१ बोतल चामल पठाउने प्रयास गरिरहेको अवस्थामा पक्राउ परेका थिए ।