बेइजिङ, चीन ।
चीनले जापानी नागरिकका लागि भिसा शुल्कमा ठूलो वृद्धि गर्ने भएको छ । चिनियाँ दूतावासले शुक्रबार दिएको जानकारी अनुसार सेप्टेम्बर १४ देखि आवेदनमा नयाँ शुल्क लागू हुनेछ ।
एकपटक प्रवेश गर्ने भिसाको शुल्क हालको २,२५० येनबाट बढेर १६,७५० येन पुग्नेछ । त्यस्तै, दुईपटक प्रवेश गर्ने भिसाको शुल्क ३,७५० येनबाट बढेर २५,१०० येन हुनेछ ।
चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले यो शुल्क वृद्धि पारस्परिकताको सिद्धान्त अनुसार गरिएको बताएकी छन् । जापानले पनि जुलाईदेखि विदेशी नागरिकका लागि भिसा शुल्क बढाएपछि चिनले जवाफी शुल्क लगाएको हो ।
यद्यपि, चीनले नोभेम्बर २०२४ देखि जापानी नागरिकका लागि छोटो अवधिको भिसा छुट पुनः लागू गरेको छ । हाल जापानी नागरिकले पर्यटन लगायत छोटो अवधिको यात्राका लागि ३० दिनसम्म भिसा नलिई चीन प्रवेश गर्न सक्ने व्यवस्था छ ।