(Japan) 19 th September | 2026 | Saturday | 12:20:40 PM || (Nepal) 9:05:40 AM
 
 


जापानद्धारा समुद्रबाट तीन उत्तर कोरियालीको उद्धार, अब फिर्ता कसरी पठाउने भन्ने अन्यौल

  POSTED ON : Saturday, 19 September, 2026 | Views : 42

जापानद्धारा समुद्रबाट तीन उत्तर कोरियालीको उद्धार, अब फिर्ता कसरी पठाउने भन्ने अन्यौल


टोकियो, जापान ।

जापानको समुद्री सुरक्षा गार्डले शिमाने प्रिफेक्चरको पश्चिमी तटमा डुबेको उत्तर कोरियाली जहाजबाट तीन जना उत्तर कोरियाली नाविकको सकुशल उद्धार गरेको छ । घटनामा एक जना अझै समुद्रमा बेपत्ता रहेको जनाइएको छ ।

जापान टाइम्सका अनुसार घटना बिहीबार भएको हो । उत्तर कोरियाली जहाज ओकी द्वीपसमूहमध्ये निशिनोशिमा द्वीपबाट करिब १०४ किलोमिटर दक्षिणपश्चिममा समुद्रमा डुबेको थियो । जहाजलाई त्यसअघि एउटा ठूलो मालवाहक जहाजले ठक्कर दिएर तानेर लैजाँदै गरेको थियो ।

यस घटनालाई विशेष मानिएको छ, किनभने उत्तर कोरियाली पक्षले आफ्ना समुद्री कर्मचारीको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग मागेको यो निकै दुर्लभ घटना हो ।

उद्धार गरिएका तीनै जनालाई जापानी अधिकारीहरूले सुरक्षित रूपमा नियन्त्रणमा लिएपछि अब उनीहरूलाई उत्तर कोरिया कसरी फिर्ता पठाउने भन्ने प्रश्न उठेको छ । जापान र उत्तर कोरियाबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध टुटेको छ । त्यसै कारण उद्धारपछिको स्वदेश फिर्ती प्रक्रिया सहज नहुन सक्ने देखिएको छ ।

विशेषगरी उत्तर कोरियासँग जापानको औपचारिक कूटनीतिक सम्बन्ध नरहेको अवस्थामा उद्धार गरिएका व्यक्तिहरूको पहिचान, स्वास्थ्य अवस्था, उनीहरूको इच्छा तथा उत्तर कोरियाली पक्षसँग आवश्यक समन्वयलगायत विषयमा जापानी अधिकारीहरूले निर्णय लिनुपर्ने हुन्छ । यसमा जापानले चिनियाँ अधिकारीहरुको सहयोग लिनसक्ने ठानिएको छ ।

यस घटनाले मानवीय उद्धार र जापान–उत्तर कोरिया बीचको संवेदनशील कूटनीतिक सम्बन्ध दुवैलाई एकैपटक सतहमा ल्याएको छ । उद्धार गरिएका नाविकहरूको भविष्यमा के प्रक्रिया अपनाइन्छ र उनीहरूलाई कहिले तथा कसरी उत्तर कोरिया पठाइन्छ भन्ने विषयमा जापानी अधिकारीहरूको आगामी निर्णय महत्वपूर्ण हुनेछ ।