एजेन्सी । ईरानले कतार र इराकमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको बताएको छ ।
मंगलबार बिहान भएको आक्रमणको विस्तृत विवरण आइसकेको छैन् । अमेरिकाले ईरानको तीन न्युक्लियर केन्द्रमा आक्रमण गरेपछि क्रुद्ध बनेको ईरानले अमेरिका विरुद्ध कारबाही गर्ने चेतावनी दिँदै आएको थियो ।
तर, सोमबार साँझ एक्कासि र अप्रत्याशित रुपमा कतारमा रहेको अमेरिकी अखडामा ईरानले हवाई हमला गरेको हो । इरानले अमेरिकाले इरानी आणविक साइटहरूमा गरेको आक्रमणको प्रतिशोधस्वरूप कतारस्थित अल उदीद एयर बेसमा रहेका अमेरिकी सैन्यमाथि आक्रमण गरेको जनाएको छ ।
अलजजिराले जनाए अनुसार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोप्स (IRGC) ले सोमबार आधिकारिक रूपमा अल उदीद बेसलाई लक्षित गरी प्रतिआक्रमण स्वरूप मिसाइल प्रहार गरेको पुष्टि गरेको छ, इरानको तास्नीम समाचार एजेन्सीले भनेको छ ।
कतारको विदेश मन्त्रालयले आफ्नो मुलुकमा रहेको अमेरिकी सैन्य अखडामा आक्रमण भएको पुष्टी गरेको छ । साथै उसले ईरानी हमलाको विरोध पनि गरेको छ । ईरानको हमलालाई आकासमै रोकिएको भन्दै कतारले यसको उपयुक्त र कानुनअनुसारको जवाफ ईरानलाई दिने पनि बताएको छ ।
उता अमेरिकाको सैनिक मुख्यालय पेन्टागनले पनि कतारको अमेरिकी अखडामा आक्रमण भएको पुष्टि गरेको छ । यद्यपि आक्रमणबाट कुनै क्षतिको विवरण नआएको पेन्टागनलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ ।
आक्रमणपछि अमेरिकि राष्ट्रपती डोनाल्ड ट्रम्पले ईरानले आक्रमण पुर्व जानकारी दिएको बताउदै कुनैपनि मानबिय क्षती नभएको बताएका छन ।
उनले ईरानलाई पुर्व जानकारीको लागि धन्यवाद भन्दै अब ईरानले शान्तीकी बाटो रोज्नुपर्ने र इजरायललाई पनि त्यसै गर्न सुझाव दिएका छन ।
अमेरिकाका उच्च सैनिक अधिकारीहरूले घटनाको सुक्ष्म विश्लेषण गरिरहेको पनि समाचारहरूमा जनाइएको छ । ईरानबाट हवाई हमला भएपछि कतारले आफ्नो एयर स्पेस बन्द गरेको छ भने अमेरिका र बेलायती नागरिकलाई सुरक्षित स्थानमा रहन भनेको छ ।