काठमाडौं ।
एक पछि अर्को गम्भिर अपराध र मुद्वा खेपिरहेका नेपाली कांग्रेसका नेताहरुले अदालतबाट सफाइ पाउने क्रममा गुण्डागर्दिबाट राजनीतिमा लागेका काभ्रेका नेपाली कांग्रेस नेता गणेश लामालाई सम्पत्ति शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले सोमबार विशेष अदालतको फैसला उल्टाउँदै लामालाई सफाइ दिएको हो । अदालतले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो।
लामाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७० जेठ ५ गते १ करोड ४० लाख ५० हजार रुपैयाँ अवैध ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विभागले उनीमाथि आपराधिक क्रियाकलापबाट गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको आरोप लगाएको थियो।
उक्त मुद्दामा विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत र सोही बराबर जरिवाना गर्ने फैसला सुनाएको थियो। तत्कालीन विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासबाट यो फैसला भएको थियो।
विशेषको फैसला लगत्तै लामा पुस ९ गते सर्वोच्च अदालत पुगेका थिए। विशेष अदालतको सजाय पर्याप्त नभएको भन्दै अनुसन्धान विभागले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो।
तर सर्वोच्चले दुवै पुनरावेदनमाथि सुनुवाइ गर्दै दाबी पुष्टि नहुने ठहर गरेपछि लामा सफाइ पाएका हुन्।