(Japan) 16 th April | 2026 | Thursday | 7:22:57 AM || (Nepal) 4:07:57 AM
 
 


अमेरिकाद्वारा इरानका परमाणु केन्द्रहरुमा बम हमला, ट्रम्पले के भने ?

  POSTED ON : Sunday, 22 June, 2025 | Views : 596

अमेरिकाद्वारा इरानका परमाणु केन्द्रहरुमा बम हमला, ट्रम्पले के भने ?


एजेन्सी, जापान ।

इरानि सरकारी अधिकारिहरु र अमेरिकि राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको फोर्दो, नटान्ज र इस्फहानमा रहेका परमाणु केन्द्रहरूमा बम हमला गरेको पुस्टि गरेका छन्।


ट्रम्पले ती हमलाहरू "निकै सफल" भएको दाबि गर्दै इरानको मुख्य प्रशोधनस्थल फोर्दोमा बमको "फूल पेलोड" खसालिएको बताए।


इरानी सरकारी सञ्चारमाध्यमहरूले फोर्दो केन्द्रको एक भाग "शत्रुको आक्रमणमा परेको" जनाएको छ।


समाचार अनुसार अमेरिकाले शनिवार इरानलाई "कूटनीतिक रूपमा" सम्पर्क गर्दै ती हमला मात्र उसको योजनामा रहेको र "शासनसत्ता परिवर्तनको प्रयासको योजनामा नरहेको" जानकारी दिएको थियो ।


ट्रम्पले अमेरिकी आक्रमणबाट ईरानको आणविक साइटहरु ध्वस्त पारिएको भन्दै अझै इरानले शान्तिको बाटो नसमाते नतिजा झनै खराब हुने धम्कीसमेतको दिएका छन् । ‘अमेरिकाको आक्रमण अद्भूत सैन्य सफलता हो,’ उनले भने,‘इरानका आणविक पूर्वाधारहरू पूर्ण रूपमा ध्वस्त पारिएको छ ।’


कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको कदमको समर्थनमा प्रतिक्रिया गरेका छन् भने केही अमेरिकी सांसदहरूले कङ्ग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन्।


हमला लगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले "इरानका प्रमुख आणविक प्रवर्द्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको" बताउँदै "इरानले अब शान्ति कायम गर्नुपर्ने" बताए।


"यदि उनीहरूले त्यसो गरेनन् भने भविष्यका हमलाहरू निकै ठूला र निकै सहज हुनेछन्," उनले भने।

चार मिनेट लामो उक्त सम्बोधनमा ट्रम्पले बेन्जमिन नेतन्याहूलाई बधाई दिँदै आफूहरूले "इजरेलका लागि यस भयानक खतरा" मेट्न "एकसाथ" काम गरेको बताए।

इरानलाई थप चेतावनी दिँदै ट्रम्पले थपे: "त्यहाँ कि त शान्ति हुनेछ या इरानका लागि विगत आठ दिनमा हामीले देखेभन्दा निकै ठूलो त्रासदी हुनेछ।"


इजरेलमा कडा सुरक्षा व्यवस्था


अमेरिकी हमलासँगै इजरेली सेनाले देशमा सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ। जसमा भेलाहरूमा प्रतिबन्ध र विद्यालय तथा कार्यालयहरू बन्द गर्ने समावेश छन्।

अमेरिकी हमलाप्रति प्रतिक्रिया जनाउँदै इजरेल वासिङ्टनसँग "पूर्ण समन्वय" मा रहेको इजरेली सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले इरानमा आक्रमण गर्ने राष्ट्रपति ट्रम्पको कदमलाई 'साहसिक निर्णय' बताउँदै त्यसको प्रशंसा गरेका छन्।

उनले एक भिडियो सन्देशमार्फत यस अमेरिकी हमलाले इतिहास बदल्ने बताएका छन्।


ती इरानी परमाणु केन्द्रहरूमा हमलाका लागि अमेरिकी लडाकु विमान बी-२ बमर प्रयोग गरिएका भनिएका विवरणहरू आएका छन्।

ती ठूला जेटहरू इरानको जमिनमुनि रहेका परमाणु केन्द्रसम्म पुग्न सक्ने अस्त्र बोक्न सक्षम विमान मानिन्छन्।

ती विमानले बोक्ने अस्त्र साठी मिटरसम्मको गहिराइमा विस्फोट हुनुभन्दा पहिले जमिनमुनि रहेका लक्ष्यहरू छेड्नेगरी बनाइएका छन्।


यसअघि अमेरिकी सेनाले आफ्ना बी-२ स्टिल्थ बमवर्षकहरूलाई प्रशान्त महासागरमा रहेको अमेरिकी टापु क्षेत्र गुआममा सारेको थियो।

त्यससँगै वासिङ्टन इजरेल र इरानबीचको द्वन्द्वमा प्रत्यक्ष रूपमा संलग्न हुने योजना बनाइरहेको हुनसक्ने बारे प्रश्नहरू उठेका थिए।