एजेन्सी ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विशेष अनुमति लिएर संयुक्त राज्य अमेरिका बस्दै आएका पाँच लाख आप्रवासीहरूलाई तत्काल अमेरिका छाड्न निर्देशन दिने भएका छन् ।
अमेरिकाको डिपार्टमन्ट अफ होमल्यान्ड सेक्युरिटी (डीएचएस) ले बिहीवार एक विज्ञप्ति मार्फत् क्युवा, हेइटी, निकारागुआ र भेनेजुएलाका त्यस्ता नागरिकहरूलाई यसअघि निष्कासन गर्नबाट लगाइएको अस्थायी रोक अन्त्य गरिने जनाएको हो।
उनीहरूलाई अमेरिकाबाट बाहिरिन आग्रह गर्दै इमेल पठाइने उक्त निकायले जनाएको छ ।
पूर्वराष्ट्रपति जो बाइडनले आफ्नो कार्यकालमा चार देशका पाँच लाख नागरिकलाई दुई वर्ष अमेरिकामै बस्न सक्ने अनुमति दिएको थियो ।
ट्रम्प प्रशासनको आम निष्कासन कार्यक्रमजस्तै पछिल्लो निर्देशनविरुद्ध पनि कानुनी चुनौती दिइने ठानिएको छ । यद्यपी यो निस्कासनको घोषणा पनि ट्रम्पकै चाहना अनुसार अमेरिकी डीएचएसले जारी गरेको हो ।
आफ्नो कार्यकालमा बाइडनले उनीहरूका लागि अमेरिकामा रहने सुविधा बढाएका थिए जसलाई 'ह्युमेनिटेरिअन परोल' नाम दिइएको थियो।
उनीहरूलाई आ-आफ्नो देशको अवस्थाका कारण अमेरिकामा रहने सुविधा दिइएको थियो।
डीएचएसका अनुसार सन् २०२४ को नोभेम्बर अन्त्यसम्म ५,३१,६७० जना मानिसहरूलाई उक्त कार्यक्रम अनुसार अमेरिकामा बस्ने अनुमति दिइएको थियो।
यसले ती चार देशबाट अमेरिकामा हुने गैरकानुनी प्रवेश ९८ प्रतिशतले घटेको थियो।
डीएचएसले आफैँ देशबाट बाहिरिन चाहने अमेरिकामा रहने कानुनी हैसियत नभएका आप्रवासीहरूलाई यात्रामा सहयोग र एक हजार अमेरिकी डलर बोनस दिने प्रस्ताव गरेको छ।