(Japan) 16 th April | 2026 | Thursday | 7:23:43 AM || (Nepal) 4:08:43 AM
 
 


हमासले नियन्त्रणमा रहेका थाई नागरिकको इजरायली आक्रमणमा मृत्‍यु, विपिन जोशीको अवस्था अज्ञात

  POSTED ON : Sunday, 08 June, 2025 | Views : 456

हमासले नियन्त्रणमा रहेका थाई नागरिकको इजरायली आक्रमणमा मृत्‍यु, विपिन जोशीको अवस्था अज्ञात


एजेन्सी ।

२० महिनाअघि हमास समूहले इजरायलमा आक्रमण गरी  अपहरण गरेका एक थाई नागरिकको इजरायली सेनाको बमबारिमा परि मृत्‍यु भएको छ ।

थाई नागरिक नातापोङ पिन्ताको शव भेटिएको इजरायली सेनाले बताएको छ। उनीसँगै हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको अवस्था भने अझै अज्ञात छ ।


थाई नागरिक पिन्ताको शव दक्षिणी गाजाको राफह क्षेत्रमा भेटिएको इजरायलका रक्षामन्त्री इजरायल कट्जलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । ती थाई नागरिक कृषि मजदुरका रुपमा दक्षिणी इजरायलमा कार्यरत थिए। सात जना थाई नगरिक त्यसबेला अपहरणमा परेकोमा पाँच जनालाई हमासले ६ महिनाअघि रिहा गरेको थियो। 


हमासले इजरायली बमबारिमा ती थाई नागरिकको मृत्‍यु भएको बताए पनि अपहरण गरिएको एक महिनाभित्रै उनको हत्या गरिएको हुनसक्ने आरोप इजरायली सैनिक अधिकारीले लगाएका छन् । यसअघि पनि गत सातामा इजरायली सेनाले इजरायली अमेरिकनको शव गाजामा भेटाएको थियो । उनको पनि इजरायली रकेट आक्रमणमा निधन भएको हमासले बताएको छ । 


७ अक्टोबर २०२३ मा हमास नेतृत्वको समूहले इजरायलमा आक्रमण गरी इजरायली सेनासहित विभिन्न देशका नागरिकलाई अपहरण गरेको थियो । त्यसरी अपहरण गरि बन्धक बनाइएकामध्ये केहीलाई रिहा गरिएकोमा कतिपयको शव भेटिएको थियो । नेपालका विपिन जोशी लगायत केहीको अवस्था अझै अज्ञात छ ।


२० महिनाअघि हमासले गरेको आक्रमणपछि इजरायलले प्यालेस्टाइन गाजा क्षेत्रमा ब्यापक हमला गरिरहेको छ । इजरायली नरसंहारमा परि गाजाका ५४ हजार भन्दा धेरै नागरिकले ज्यान गुमाइसकेका छन् ।