एजेन्सी ।
चार दिनको प्रत्यक्ष आक्रमण र प्रत्याक्रमणपछि छिमेकी भारत र पाकिस्तानले युद्धबिराम गरेका छन् ।
शनिबार दुवै देशबिच कुनै मिति नतोकिइ युद्धबिराम भएको हो ।
शुक्रबार रातिदेखि दुई देशको सेनाले एक अर्काका सैन्य अखडाहरुमा समेत आक्रमण थालेका थिए । सैन्य संरचनाहरूमा आक्रमण हुनथालेपछि परमाणु हतियार सम्म दुई देशबिच पूर्ण स्तरको युद्ध हुने जोखिम बढाएको थियो ।
शनिवार साँझ ५ बजेबाट युद्धबिराम हुँदा अमेरिकाले यसमा आफ्नो भूमिका रहेको भन्दै जस लिन अघि सरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकासँग शनिबार रातभरिको वार्तापछि भारत र पाकिस्तान दुवै युद्धविराम गर्ने सहमतिमा पुगेको बताएका छन्।
शनिबार दिउँसो अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानी विदेशमन्त्री इशाक डार र सेनाप्रमुख असिम मुनिरसँग संवाद गरेका थिए।
संवादमा उनले युद्धविरामलाई जोड दिएका थिए भनेर पाकिस्तानबाट प्रकाशित हुने पत्रिका डनले लेखेको छ।
विदेशमन्त्री डारले युद्धविराम हुनुको श्रेय बेलायतलाई दिएका छन्। उनले बेलायतका विदेशमन्त्री डेविड लामीले मुख्य रूपमा भूमिका खेलेको बताएका छन् ।
विदेशमन्त्री डेविड लामीले पनि आफ्नो एक्स अकाउन्टमा पोस्ट लेख्दै दुवै देशका विदेशमन्त्रीसँग कुराकानी गरेको बताएका छन्।
उनले शुक्रबार दुई देशले एक अर्कामाथि गरेको सैन्य कारबाहीले चिन्तित बनाएको भनेका छन्। त्यसपछि आफूले भारतका विदेशमन्त्री र पाकिस्तानका विदेशमन्त्रीसँग संवाद गरेको बताएका छन्।
डारले टर्किका विदेशमन्त्रीले पनि आफूसँग कुराकानी गरेको र युद्धविराममा उनको भूमिका पनि प्रमुख रहेको बताएका छन्।
अमेरिका लगायतका देशहरूले संवाद गरेपछि पाकिस्तानका वरिष्ठ सैन्य अधिकारीले भारतीय सैनिक अधिकारीसँग टेलिफोन संवाद गरेका थिए। त्यसपछि उनीहरूबीच युद्धविराम गर्ने सहमति भएको भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले बताएका छन्।