एजेन्सी ।
जाजामा दैनिक बमबारी गरेर दर्जनौं निहत्था सर्वसाधारणको ज्यान लिइरहेको इजरायली सेनाले खाना, पानी र औषधी समेत आपूर्ति ठप्प पारेर गाजावासीलाई भोकभोकै मर्न बाध्य पार्न थालेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस एधानोम गेब्रेयससले गाजामा इजरायली नाकाबन्दीका कारण राष्ट्रसंघका ७५ प्रतिशत मिसन गाजा प्रवेश गर्नबाट रोकिएको बताएका छन्।
जेनेभामा पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोसले मार्च २ देखि गाजामा इजरायलले लगाएको पूर्ण नाकाबन्दीले खाद्यान्न तथा चिकित्सालगायतका आधारभूत वस्तुको आपूर्तिसमेत रोकिएको जानकारी दिए । गाजा चिहानघर भएको बताउँदै टेड्रोसले भोकमरी, खानेपानी अभावले ज्यान गुमाउने अवस्था रहेको भन्दै उपचार नपाएरै कयौंले दैनिक ज्यान गुमाइरहेको बताए । १० हजार भन्दा बढि घाइतेहरु गाजामा थप उपचार संभव नभएपछि उद्दारको पर्खाइमा रहेपनि इजरायलले अवरोध गरेर घाइतेहरुलाई मर्न बाध्य पारिरहेको अलजजिरा समाचार संस्थाले उल्लेख गरेको छ ।
गत हप्तामा मात्रै संयुक्त राष्ट्रसंघका ७५ प्रतिशत मिसनहरू रोकिँदा भोक, कुपोषण तथा आश्रय र पर्याप्त स्वास्थ्य सेवाको पहुँच अभावले रोग र मृत्युको जोखिम बढेको चेतावनी उनले दिएका छन्।
टेड्रोसले गाजाको स्वास्थ्य प्रणालीमा इजरायली आक्रमण जारी रहेको कुरामा जोड दिँदै सन् २०२३ अक्टोबर ७ देखि चार सयभन्दा बढी मानवतावादीहरूको मृत्यु भएको बताए। बढ्दो जोखिम र घट्दो आपूर्तिको बाबजुद गाजामा सहायता, स्वास्थ्य सेवा र निर्वाध मानवीय पहुँचका लागि तत्काल नाकाबन्दी हटाउन उनले आह्वान गरे।
गाजामा हालसम्म कम्तिमा ६० हजार व्यक्तिको इजरायली सेनाले हत्या गरिसकेको छ । इजरायली नरसंहारमा गाजामा मारिएका मध्ये ९० प्रतिशत भन्दा धेरै निहत्था सर्वसाधारण त्यसमा पनि महिला र बालबालिका रहेका छन् । तर इजरायलले भने हरेक बम, रकेट र गोलाबारीमा सर्वसाधारण मारिएपछि सुरक्षा चुनौतिका कारण कारवाही गरेको बताउने गरेको छ । तर कुनैपनि ठोस प्रमाण दिन सकेको छैन ।
गत हप्ता मात्र गाजामा १५ जना स्वास्थ्य उद्दारकर्ताहरुको १२ मिटर नजिकबाट विभत्स हत्या गरेको इजरायलले पहिला हमास लडाकुहरु भएको बताएको थियो भने भिडियो बाहिरिएपछि कमजोरी भएको भनेर पन्छिएको छ ।
गाजामा जारी इजरायली नरसंहारमा अमेरिका, बेलायत, जर्मनी लगायत देशहरुले सहयोग र इजरायली हर्कतको बचाउ गर्दै आएका छन् ।