एजेन्सी ।
बिदेशी आप्रवासी प्रति कठोर नीति अपनाएको डोनाल्ड ट्रम्प प्रशासनले यसअघिको बाइडेन प्रशासनले आफ्नो कार्यकालमा प्रवेश दिएका ९ लाख आप्रवासीलाई तत्काल देश छाड्न आदेश दिएको छ ।
ट्रम्प प्रशासनले अमेरिकी नीति उल्टाएर आप्रवासीहरूको कानुनी अनुमति रद्द गरेको छ । उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न भनिएको छ । जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार ५०० मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका छिरेका थिए ।
उनीहरूलाई दुई वर्षसम्म अमेरिकामा काम गर्न पाउने गरी बस्ने अनुमति दिइएको थियो । ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्न यी अनुमति अब खारेज गरिएको बताएको छ ।
यो एपमार्फत अमेरिका छिरेका मानिसहरूलाई इमेल मार्फत अनुमति रद्द गरिएकोबारे सूचित गरिएको अधिकारीहरूले पुष्टि गरेका छन् ।
तर कतिले त्यस्तो जानकारी पाएका छैनन् भनेर कुनै जानकारी दिइएको छैन । यी सबैलाई आफैँ अमेरिका छोड्न भनिएको छ । अमेरिकी नयाँ घोषणासँगै अमेरिकामा रहेका बिदेशी आप्रवासीहरुबिच अब के हुन्छ भन्ने चिन्ता र समस्या बढाएको देखिएको छ ।