(Japan) 20 th April | 2026 | Monday | 5:35:44 PM || (Nepal) 2:20:44 PM
 
 


इजरायली सेनाले गाजामा १५ स्वास्थ्यकर्मी र उद्दारकर्ताको जानाजान हत्या गरेको भिडियो सार्वजनिक

  POSTED ON : Sunday, 06 April, 2025 | Views : 796

इजरायली सेनाले गाजामा १५ स्वास्थ्यकर्मी र उद्दारकर्ताको जानाजान हत्या गरेको भिडियो सार्वजनिक


एजेन्सी ।

मोबाइल फोनमा कैद भएको भिडियो फुटेजले मार्च २३ मा एम्बुलेन्स र दमकल सवार उद्दारकर्ताहरुको समुहलाई इजरायली सेनाले जानाजान गोली हानेर हत्या गरेको खुलासा भएको छ । १५ उद्धारकर्मी मारिएको घटनामा इजरायलले यसअघिका नरसंहारका घटनामा जस्तै हमासका लडाकुहरु सवार भएको वा आक्रमणको जोखिम पाइएपछि हमला गरेको झुठो दाबी गरेको थियो ।

प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीद्वारा प्रकाशित भिडियोमा हेडलाइट र आपतकालीन फ्ल्यासिङ बत्तीहरू अन गरेर अन्धकारमा सवारी साधनहरू चलिरहेको अवस्थामा जानाजान लगातार कयौं मिनेटसम्म गोलावारी गरेर उद्दारकर्ताहरुको विभत्स हत्या गरेको खुलसा भएको हो । भिडियो मारिएका एक स्वास्थ्य उद्दारकर्ताको फोनबाट प्राप्त गरिएको हो ।

गाजामा युद्ध अपराध र नरसंहार मच्चाउँदै आएको इजरायल रक्षा बल आईडिएफले सुरुमा सवारी साधनहरूको हेडलाइट वा आपतकालीन संकेतहरू अन नगरेकोले अन्धकारमा आक्रमण गरिएको झुठो दाबी गरेको थियो ।


तर भिडियोको घटनाको बारेमा प्रसारित कागजातहरू सहित सबै इजरायली दावीहरू झुठो प्रमाणित भएको छ ।

उक्त आक्रमणबाट बाँच्न सफल एक जीवित स्वास्थ्य उद्दारकर्ताले यसअघिनै एम्बुलेन्सहरूले स्पष्ट रूपमा एम्बुलेन्सको चिन्ह लगाइएको र तिनीहरूले आन्तरिक र बाह्य बत्तीहरूबालेरै कुदाएको बताएको बिबिसिले उल्लेख गरेको छ ।

संयुक्त राष्ट्र सुरक्षा परिषद्मा प्रस्तुत गरिएको पछिल्लो भिडियोमा चिन्ह लगाइएका सवारी साधनहरू सडकको किनारमा रोकिएको, बत्तीहरू अझै चम्किरहेका र कम्तिमा दुई आपतकालीन कर्मचारीहरू अँधेरोमा सहजै चिन्न सकिने उद्दारकर्ताको लुगा लगाएर बाहिर निस्किरहेको देखाइएको छ ।

आफ्नो मोबाइलबाट भिडियो खिज्दै गरेका उद्दारकर्ताले गोली चल्न थालेपछि प्रार्थना गरिरहेको बेला केही मिनेटसम्म गोली चलेको भिडियोमा सुन्न सकिन्छ । उनी मृतक प्यारामेडिकहरूमध्ये एक भएको बुझिएको छ ।

घटनाको एक हप्ता पछि इजरायली सेनाले हत्या गरेर गाडेको अवस्थामा उनको शव चिहानबाट निकालिएको थियो । पछि उनको फोनमा फुटेज फेला परेको हो । आठ प्यारामेडिकहरू, छ गाजा सिभिल डिफेन्सका कामदारहरू र एक संयुक्त राष्ट्र संघका कर्मचारीको शव इजरायली सेनाले घटना लुकाउन बालुवामा गाडिएको अवस्थामा फेला परेको थियो, साथै एम्बुलेन्सहरु समेत क्षतविक्षत अवस्थामा फेला परेका थिए ।

स्वास्थ्यकर्मीहरु र उद्दारकर्ताहरुको जानाजान हत्याको यस युद्ध अपराध ठहर्ने घटनापछि इजरायलले घटनामा धेरै हमास र इस्लामिक जिहाद लडाकूहरू मारिएको दाबी गरेको छ, तर इजरायलले कुनैपनि प्रमाण पेश गर्न सकेको छैन । उद्दारकर्ताहरुको हत्याको गम्भिर घटना लुकाउन इजरायलले केवल आफ्ना सेनाहरूलाई खतरा महशुस गरेर गोली चलाएको बताएको छ ।

उक्त आक्रमणबाट बाँचेर एक उद्दारकर्ता भाग्न सफल भएपनि १५ जनाको शव गाडिएको अवस्थामा फेला परेकोमा इजरायली सेनाले एकजनालाई भने बेपत्ता बनाएको छ ।