एजेन्सी ।
गत साता गएको ७.७ म्याग्निच्युडको बिनाशकारी भूकम्पमा परी म्यानमारमा मृत्यु हुनेको संख्या करिव २९ सय पुगेको छ । २ हजार ८८६ जनाको शव फेला परेको र ४ हजार ६३९ जना घाइते भएको सिन्ह्वा समाचार संस्थाले उल्लेख गरेको छ । भूकम्पमा परेर अझै ३७३ जना बेपत्ता रहेका छन् ।
प्रधानमन्त्री मिन आङ ह्लिङले भूकम्पका बिच बिभिन्न जातीय सशस्त्र संगठनहरूको युद्धविराम प्रस्ताव भने अस्वीकार गरेका छन्। उनले भूकम्पको बिनाशकारी समयमा पनि सैन्य कारबाही जारी राख्ने जनाएका छन् ।
‘तर, केही जातीय सशस्त्र समूहहरू अझै सक्रिय रूपमा लडाइँमा संलग्न रहेका छन्,’ ह्लिङले भने, ‘यो एक प्रकारको आक्रामकता भएको हुनाले सेनाले आवश्यक रक्षा कारबाही जारी राख्नेछ ।’
भूकम्पको विनाश र मानवीय सहायता पठाउनमा विश्वव्यापी ध्यान केन्द्रित भएको बेला म्यानमारको सेनाले देशभरि प्रतिरोधी समूहहरू विरुद्ध आक्रमण जारी राखेको म्यानमार नाउको रिपोर्टमा उल्लेख गरिएको छ।
सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्ने र आपतकालीन प्रतिक्रियामा बाधा पुर्याउने प्रतिबन्धहरू हटाउनुपर्ने जनाएको छ।
यद्यपि, मार्च २८ मा यस क्षेत्रमा भूकम्प गएपछि पनि सेनाले प्रभावित क्षेत्रमा हवाई आक्रमण जारी राखदै सीमित इन्टरनेट पहुँच खुला गरेको छ, जसले मानवीय प्रतिक्रियालाई थप जटिल बनाएको उद्दारकर्ताहरु बताउँछन् ।