(Japan) 18 th April | 2026 | Saturday | 5:50:23 PM || (Nepal) 2:35:23 PM
 
 


गाजामा इजरायली बर्बरता : एम्बुलेन्समाथि गोली प्रहार, उद्दारकर्ता सहित राष्ट्रसंघिय कर्मचारीको हत्या

  POSTED ON : Monday, 31 March, 2025 | Views : 776

गाजामा इजरायली बर्बरता : एम्बुलेन्समाथि गोली प्रहार, उद्दारकर्ता सहित राष्ट्रसंघिय कर्मचारीको हत्या


एजेन्सी ।

गाजामा जारी इजरायली नरसंहारको घटना बाहिर आउन नदिन पत्रकारहरुलाई निसाना बनाउँदै हत्या गर्दै आएको इजरायली सेनाले प्यालेस्टाइन गाजा क्षेत्रमा दुई एम्बुलेन्समा अन्धाधुन्ध गोली प्रहार गरि त्यसमा सवार कम्तिमा १४ जनाको बर्बरतापूर्ण हत्या गरेको खुलासा भएको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्टले आइतबार गाजा पट्टीमा एम्बुलेन्समा इजरायली सेनाको गोली हानेर १४ उद्धारकर्ता मारेको बताएको छ ।

“अहिलेसम्म बरामद गरिएको शवको सङ्ख्या १४ पुगेको छ, जसमा प्यालेस्टाइन रेड क्रिसेन्ट टोलीका आठ इएमटी ९आकस्मिक चिकित्सा प्राविधिक०, पाँच सुरक्षा कर्मचारी र एक संयुक्त राष्ट्र एजेन्सी कर्मचारी छन्,” समूहले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।

इजरयाली सेनाले २३ मार्चमा यो हत्या गरेको थियो ।

मृतक कर्मचारी कुन संयुक्त राष्ट्र सङ्घको एजेन्सीमा काम गर्थे भन्ने कुरा स्पष्ट पारिएको छैन । इजरायली सेनाले आफ्ना सेनाले एम्बुलेन्सहरू गोली चलाएको स्वीकार गरेको छ । तर यसअघि जस्तै उद्दारकर्ताहरुको हत्यापछि आलोचनाबाट बच्न इजरायली सेनाले ‘शंकास्पद सवारी साधन’ को रूपमा पहिचान गरेपछि गोली हानेको तर्क गरेको छ ।

लगभग दुई महिनाको युद्धविराम पछि इजरायली सेनाले गाजामा मार्च १८ मा पुनः बमबारी सुरु गरेपछि इजिप्टको सीमा नजिकैको दक्षिणी क्षेत्रमा इजरायलले नयाँ आक्रमण गरेको केही दिनपछि रफाह सहरको ताल अल–सुल्तान क्षेत्रमा यो घटना भएको हो ।

शनिबार रेड क्रिसेन्टले इजरायली अधिकारीहरूले आफ्ना चालक दललाई खोजी गर्नका लागि समेत अनुमति नदिएको बताएको छ । पछिल्लो १० दिनमा मात्रै इजरायली सेनाले प्यालेस्टान गाजा क्षेत्रमा करिव ७ सय सर्वसाधारणको रकेट, बमबारी र गोली प्रहार गरि हत्या गरिसकेको छ । इजरायली नरसंहारमा गाजामा मारिनेको संख्या ५१ हजार पार गरेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।