एजेन्सी ।
दक्षिण कोरियाको दक्षिण–पूर्वी क्षेत्रको जङ्गलमा लागिरहेको डढेलोमा परी कम्तीमा २४ जनाको ज्यान गएको छ ।
दक्षिण कोरियामा इतिहासकै भयानक डढेलोमा परी २६ जना घाइते भएका र तीमध्ये १२ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन ।
डढेलो फैलिँदै गएपछि २३ हजार जनाभन्दा धेरै मानिस घर छोडेर सुरक्षित स्थान तर्फ गएका छन् । आगलागीबाट ६ सय बर्ष भन्दा पुरानो एक प्राचीन बौद्ध मन्दिर, घर, कारखाना र गाडीहरू जलेर नष्ट भएका छन् ।
आगलागीबाट ४३ हजार तीन सय ३० एकड जमिन जलेको सरकारको आपत्कालीन प्रतिक्रिया केन्द्रले जनाएको छ ।
यसैबीच आगो निभाउन परिचालन भएको एउटा हेलिकप्टर पनि दुर्घटनाग्रस्त भएको छ ।
आगलागीबाट झन्डै १७ हजार हेक्टर जङ्गल नष्ट भएको र क्षेत्रफलको हिसाबले यो डढेलो दक्षिण कोरियाको इतिहासमा तेस्रो ठूलो हो ।
डढेलो निभाउन हजारौं अग्निनियन्त्रक र झन्डै पाँच हजार सैन्य कर्मचारी परिचालन गरिएको छ । साथै कोरियामा तैनाथ अमेरिकी सेनाका हेलिकप्टरहरू पनि डढेलो नियन्त्रण प्रयोग भएका छन् ।