टोकियो, जापान ।
जापानमा ताइफु दुजुआनका कारण परेको अभूतपूर्व भारी वर्षापछि चिबा र खानागावा प्रान्तमा बाढी, पहिरो तथा डुबानका घटना बढेका छन् । पछिल्लो विवरण अनुसार १० जनाको मृत्यु भएको छ भने ४ जना अझै बेपत्ता छन् ।
आवासीय क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । चिबा र खानागावा प्रान्तमा गरी ६३० भन्दा बढी घरमा क्षति पुगेको पुष्टि भएको छ ।
चिबाको कामोगावा सहरमा घरभित्र माटो पस्दा सम्पर्कविहीन भएका ७० वर्ष आसपासका एक पुरुषको मृत्यु पुष्टि भएको छ । यससँगै कामोगावामा मात्रै मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
त्यसैगरी इन्साई, सान्मु, मोबारा र सोदेगाउरा सहरमा थप ४ जनाको मृत्यु भएको छ । यससँगै चिबा प्रान्तमा मात्रै मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
कामोगावामा १ जना र नागारामा १ जना गरी कम्तीमा २ जना बेपत्ता छन् । प्रहरी र दमकल टोलीले बेपत्ताहरूको खोजी जारी राखेका छन् ।
भारी वर्षाका कारण नदीमा बाढी आउनुका साथै पहिरो र घर डुबानका घटना भएका छन् । प्रभावित क्षेत्रमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम जारी रहेको छ।
...
ताइफु दुजुआनको प्रभावले परेको भारी वर्षा र बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । चिबा र कानागावा प्रिफेक्चरमा अझै ५ जना बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको छ।
चिबा प्रिफेक्चरले बुधबार थप एक जनाको मृत्यु पुष्टि गरेपछि दुवै प्रिफेक्चरमा मृत्यु हुनेको संख्या ८ पुगेको हो । चिबाको साकुरा सिटीमा ताकासाकी नदीमा आएको बाढीले ठूलो क्षेत्र डुबानमा परेको छ । बाढीका कारण करिब ५०० घरमा क्षति पुगेको बताइएको छ ।
चिबा प्रिफेक्चरका अनुसार इन्साई सिटीमा पानीमा डुबेको गाडी नजिकैबाट ६० वर्ष आसपासका एक पुरुष भेटिएका थिए । उनलाई मृत घोषणा गरिएको छ ।
त्यस्तै, कामोगावा सिटीमा ६० र ७० वर्ष आसपासका दुई पुरुष सम्पर्कविहीन छन् । उनीहरूको खोजीका लागि जापान सेल्फ डिफेन्स फोर्स र दमकल टोलीले रातभर खोजी जारी राखेका थिए ।
चिबामा मात्रै ६ जनाको मृत्यु भएको छ भने कानागावामा २ जनाको मृत्यु भएको छ । कानागावामा अझै ३ जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको छ ।
ताइफुका कारण चिबामा प्रिफेक्चरको व्यवस्थापनमा रहेका सडकमा मात्रै करिब १२० वटा सवारीसाधन पानीमा डुबेका छन् । प्रभावित क्षेत्रमा बाढी तथा पहिरोका कारण थप क्षतिको विवरण संकलन भइरहेको छ ।