एजेन्सी ।
इजरायली सेनाले हमास नेतृत्वको गाजाका प्रधानमन्त्री इस्साम दिब अब्दुल्लाह अल-दलिसको हत्या गरेको छ । इजरायली रक्षा बलले अब्दुल्लाहको मृत्युको पुष्टि गरेका छन् ।
जुलाई २०२४ मा रुही मुश्ताहको मृत्युपछि अब्दुल्लाहले उनको कार्यभार सम्हाल्दै आएका थिए ।
अब्दुल्लाहले गाजामा हमास सरकारको नेतृत्व सम्हाल्दै आएका थिए । उनीसँग हमासको संगठन र सैन्य गतिविधिहरूको जिम्मेवारी पनि थियो । पछिल्लो २४ घण्टामा इजरायलले हवाई आक्रमणमा ३ शीर्ष हमास नेताहरूको हत्या गरेको छ ।
यसमा हमासका कमाण्डर तथा राजनीतिक नेताहरू महमूद मरजुक अहमद अबु वत्फा, बहजत हसन मोहम्मद अबु सुल्तान र अहमद उमर अब्दुल्लाह अल हता रहेको अलजजिरा समाचार संस्थाले उल्लेख गरेको छ ।
इजरायलले जनवरी १९ मा सुरु भएको हमासको युद्धविराम समाप्त गरेको छ । इजरायलले मंगलबार बिहान गाजामा धेरै हवाई आक्रमण गरेको छ ।
नरसंहारकारी आक्रमणमा इजरायली सेनाले झण्डै ४५० जना गाजावासीको हत्या गरेको छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले नरसंहारलाई हमास बिरुद्धको यो सुरुवात मात्र भएको तर्क गर्दै थप आक्रमण गर्ने धम्की दिएका छन् ।
अमेरिकी हतियार र समर्थन सहित बेलायत, जर्मनी लगायत पश्चिमा देशको समर्थन पाएका अन्र्तराष्ट्रिय अदालतबाट युद्धअपराधी दोसी ठहर नेतान्याहुले प्यालेस्टाइन गाजा क्षेत्रमा नरसंहार मच्चाउँदै करिव २ बर्षको अवधिमा ६० हजार बढिको हत्या गरिसकेका छन् । मारिने मध्ये अधिकांश बालबालिका र महिला रहेका छन् ।