(Japan) 23 rd September | 2026 | Wednesday | 11:50:11 AM || (Nepal) 8:35:11 AM
 
 


रुसी सहभागीता बिनै अमेरिका र युक्रेनबिच रुससँग ३० दिने युद्धबिराम सहमती

  POSTED ON : Wednesday, 12 March, 2025 | Views : 1380

रुसी सहभागीता बिनै अमेरिका र युक्रेनबिच रुससँग ३० दिने युद्धबिराम सहमती


एजेन्सी ।

युद्धरत रुसी प्रतिनिधिको अनुपस्थितिमै अमेरिकासँग युक्रेनले रुससँग ३० दिने युद्धबिराम गर्न सहमती जनाएको छ । साउदी अरेबियामा चलेको घण्टौंलामो बैठकपछि अमेरिकाले गुप्तचरी सूचना आदानप्रदानमा लगाएको रोक तुरुन्तै हटाउने र युक्रेनलाई सैन्य सहयोग पुनः सुरु गर्ने सहित किभले रुससँग ३० दिने युद्धविरामको लागि ट्रम्प प्रशासनको प्रस्तावलाई समर्थन गर्ने भएको छ ।

संयुक्त विज्ञप्तिमा अमेरिका र युक्रेनले कुनै पनि युद्धविरामका सर्तहरू रूसको स्वीकृतिको अधीनमा हुने स्वीकार समेत गरेका छन्।

युक्रेन र अमेरिकाले युक्रेनको महत्वपूर्ण खनिज स्रोतहरूबारेको सम्झौता चाँडो गर्ने सहमति जनाएका छन् । अमेरिका र युक्रेनले युद्धविराम भएपछि हुन सक्ने मानवीय राहत र युद्धबन्दीहरूको आदानप्रदानको बारेमा पनि छलफल गरेका छन् । तर युद्धरत रुस सहभागी नभएकाले यस बारेको विस्तृत खाका बारे केहि सम्झौता भएको छैन । रुसले दुई देशको सम्झौताबारे केहि टिप्पणी गरेको छैन ।

ह्वाइट हाउसमा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम प्रस्तावमा  युक्रेनले सहमति जनाएको र रुसले पनि समर्थन गर्ने अपेक्षा गरेको बताएका छन् ।

राष्ट्रपति ट्रम्पले यस हप्ता रूसी नेता भ्लादिमिर पुटिनसँग कुरा गर्नसक्ने बताइएको छ । उनले आगामी दिनहरूमा स्थायी युद्धविरामको लागि वार्ता हुने आशा व्यक्त गरेका छन् ।

साउदी अरेबियाको तटीय शहर जेद्दामा भएको वार्ताले युक्रेनी र अमेरिकी राष्ट्रपतिहरू बीच ह्वाइट हाउसमा सार्वजनिक टकराव पछि असफल भएको युद्धविराम वार्तालाई नयाँ गति प्रदान गरेको छ । वासिङ्टनमा भएको बैठकपछि ट्रम्प प्रशासनले सबै सैन्य सहायता र गुप्तचर जानकारी आदानप्रदान निलम्बन गरेको थियो।

बैठकपछि विदेशमन्त्री मार्को रुबियोले सम्झौताबाट अब रूसलाई युद्ध अन्त्य गर्न दबाब पुगेको बताएका छन् । बल अब रुसी कोर्टमा रहेको उनले बताएका छन् ।

जेद्दामा अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल वाल्ट्जले गरेका थिए। उनीहरूले युक्रेनी राष्ट्रपतिका प्रमुख कर्मचारी एन्ड्री येर्माक, विदेशमन्त्री एन्ड्री सिबिहा र रक्षामन्त्री रुस्तेम उमरोभको नेतृत्वमा कीभको प्रतिनिधिमण्डलसँग भेट गरेका थिए ।

हिजो बिहान सबेरै युक्रेनले रुसी राजधानी मस्कोमा युद्ध यताकै ठूलो मात्रामा ड्रोन आक्रमण गरेको र मस्कोको बृहत् क्षेत्रमा कम्तिमा तीन जनाको मृत्यु भएको र १८ जना घाइते भएको रुसी अधिकारीहरूले बताएका छन् ।

रुसी समाचार संस्था ताससँग कुरा गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अमेरिकी प्रतिनिधिहरूसँग आउँदो दिनमा छिटै सम्पर्क गर्न सकिने सङ्केत गर्नुभएको खबरमा उल्लेख छ । तर दुई देशले गरेको ३० दिने युद्धबिराम सहमती बारे केहि खुलाइएको छैन ।