टोकियो, जापान ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानलाई मुद्राको बिनिमय हेरफेर गरेको आरोप लगाएका छन् ।
अमेरिकी राष्ट्रपतिले जापानलाई मुद्रा हेरफेरको आरोप लगाउँदै अतिरिक्त कर लगाएर जवाफ दिनसक्ने संकेत दिएका छन् ।
ट्रम्पले अन्य देशहरूले आफ्नो अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक लाभ दिन जानाजानी आफ्नो मुद्राको मूल्य घटाइरहेको बताएका हुन् । उनले जापान र चीनलाई विशेष रूपमा उल्लेख गरेका छन् ।
ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङ र जापानी नेताहरूलाई फोन गरेका थिए । उनले समकक्षीहरूलाई उनीहरूले डलरको तुलनामा आफ्नो मुद्राको अवमूल्यन जारी राख्न राखेमा अमेरिकाको लागि अनुचित हुने बताएको अमेरिकी समाचार संस्थाहरुले खवर प्रकाशित गरेका छन् ।
ट्रम्पले अमेरिकाको लागि सजिलो समाधान भनेको आफ्ना व्यापारिक साझेदारहरूमा कर लगाउनु भएको बताएको जापानी समाचार संस्था एनएचकेले उल्लेख गरेको छ ।
जापानी अर्थमन्त्रीले आफ्नो देशले येनलाई कमजोर बनाएको कुरा अस्वीकार गरेका छन् ।
कातो कात्सुनोबुले सरकार र जापान बैंकले विगतमा आफ्नो मुद्रालाई बलियो बनाउन हस्तक्षेप गरेको बताएका छन् ।