(Japan) 13 th March | 2026 | Friday | 8:57:33 PM || (Nepal) 5:42:33 PM
 
 


रुसी सेनाका ८१ नेपाली युक्रेन युद्धमा मारिए, २७९ जना बेपत्ता, मृतक परिवारले बुझे २ करोड ६५ लाख

  POSTED ON : Wednesday, 05 March, 2025 | Views : 1232

रुसी सेनाका ८१ नेपाली युक्रेन युद्धमा मारिए, २७९ जना बेपत्ता, मृतक परिवारले बुझे २ करोड ६५ लाख


काठमाडौं, नेपाल ।

तीन वर्षदेखि जारी रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछिल्ला दिन सक्रिय छन् । उनले शान्ति सम्झौतामा हस्ताक्षर गराउन युक्रेनका राष्ट्रपतिलाई दबाब दिइरहेका छन् । जसको नतिजा निक्लनेक्रममा देखिन्छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की शान्ति सम्झौताको लागि तयार नभएपछि ट्रम्पले युक्रेनलाई दिँदै आएको सहायतामा रोक लगाउने निर्णय समेत गरेका छन् । अमेरिकी सहायता रोकिएपछि जेलेन्स्की अमेरिकी योजना अनुसार सम्झौता गर्न र आफ्नो खनिज सम्पदा अमेरिकालाई सुम्पन तयार देखिएका छन् ।

ट्रम्प सत्तामा आएपछि रुसलाई गलाउन अमेरिकाको साथ नपाएका जेलेन्स्की युरेपेली राष्ट्रहरूको साथ र समर्थन पाउने र बढाउने प्रयासमा छन् । तर उनले युरोपेली देशहरुको साथ पाएपनि अमेरिकी समर्थन जुटाउन नसकेमा रुससँगको युद्धमा झन पछि झन पराजय उन्मुख हुने देखिन्छ ।

अमेरिका युक्रेनलाई गलाउन प्रयास गरिरहेको छ भने युक्रेन र युरोपेली राष्ट्र अमेरिकालाई उसको पुरानै नीतिमा फर्काउन दबाव बढाउन खोजिरहेका छन् । रुस–युक्रेन युद्धलाई लिएर विश्व राजनीति तातिरहेको बेला रुसी सेनामा रहेका विदेशी सेनाका विषयमा स्वयं नेपाल सरकार मौन देखिन्छ ।

रुसी सेनामा ठूलो संख्यामा नेपाली सहभागी छन् । नेपालमा रहेका उनीहरूका परिवार आफ्ना आफन्तलाई रुसबाट पर्काइदिन भन्दै सरकारसँग हारगुहार गरिरहेका छन् । 

रुसी सेनामा भर्ना नेपालीलाई फिर्ता ल्याउने अभियानमा लागेकी कृतु भण्डारीका अनुसार रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिएका ८१ जनाको परिवारले काजक्रिया गरिसकेका छन् । उनका अनुसार रुसी सेनामा भर्ती भएकामध्ये १६ नेपाली अहिले युक्रेनी सेनाको नियन्त्रण (युद्धवन्दी) मा छन् ।

रुसी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने यकिन संख्या नेपाल सरकारसँग छैन । नेपाल सरकारले पटकपटक रुसलाई भर्ती भएका नेपालीलाई फिर्ता पठाउन आग्रह गरे पनि रुसले स्पष्ट जवाफ दिएको छैन । अप्रमाणित तथ्यांकहरु अनुसार करिव १० हजार नेपाली रुसी सेनामा भर्ति भएका छन् ।

परराष्ट्र मन्त्रालयको विवरणअनुसार रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा मारिने नेपालीको संख्या ५७ छ । यो रुसले औपचारिक रूपमा नेपाल सरकारलाई उपलब्ध गरेको विवरण हो ।

रुसले मृत्यु भएका नेपालीको शव पनि नेपालमा रहेका परिवारलाई दिन मानेको छैन । परिवारको सहमतिमा धेरैको अन्तिम संस्कार रुसमै गरिएको छ । अन्तिम संस्कार गरिएकामध्ये पाँचजनाको अस्तु नेपाल ल्याइएको छ । 

मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन भने रुसले सुरु गरेको भण्डारीले बताइन् । उनका अनुसार हालै मात्र दुईजनाको परिवारले क्षतिपूर्ति रकम प्राप्त गरेको छ । रुसले मृत्यु भएकाको परिवारलाई एक करोड ७० लाख रुवेल ९लगभग दुई करोड ६५ लाख रुपैयाँ० उपलब्ध गरेको छ । पीडित परिवारका सदस्यले रुसमै गएर क्षतिपूर्ति रकम बुझेका हुन् । 

पछिल्लो समय रुसले आफ्नो सेनामा भर्ती भएका नेपालीलगायत विदेशी नागरिकलाई रुसी नागरिकता दिने प्रक्रियालाई तिव्रता दिएको छ । ८० जनाभन्दा बढी नेपालीले रुसी नागरिकता प्राप्त गरिसकेका छन् ।

युक्रनेसँगको युद्धमा घाइते भई रुसमै उपचारत १५ जनाभन्दा बढी अहिले आफ्नो सम्पर्कमा रहेको उनले बताइन् । रुसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हराइरहेका नेपालीको संख्या २७९ छ । रुसी सेनामा भर्ती भएकामध्ये हालसम्म २१३ जनाभन्दा बढी स्वदेश फर्किसकेका छन् ।

रुसले सन् २०२२ फेब्रुअरी २४ देखि रुस र युक्रेनबीचको युद्ध निरन्तर चल्दै आएको छ ।

सुरुमा त नेपाल सरकारले रुसी सेनमा नेपाली भर्ती भएको स्वीकारेको थिएन । रुसी सेनामा भर्ती भएका नेपालीको मृत्यु भएको खबर आउन थालेपछि नेपाल सरकारले स्वीकार गरेको थियो ।

सबैभन्दा पहिला गोरखाका सन्दीप थपलियाको २०८० असार २९ गते युक्रेनसँगको युद्धका क्रममा मारिएका थिए । उनी युक्रेनको बाखमुतमा मारिएका थिए ।

धेरैजसो नेपाली भिजिट भिसामा ती देश हुँदै रुस गएको भेटिएपछि सरकारले कडाइ गरेको थियो । सरकारले कडाई गरे पनि रुसी सेनामा भर्ती हुने र मृत्यु हुने क्रम रोकिएको छैन ।